राजु गिरी, पोखरा ।
नेपालमै पहिलो पटक पत्रकारहरुको परिवार सदस्यको निशूल्क स्वास्थ्य बीमा नेपाल पत्रकार महासंघ कास्की शाखाले शुरु गरेको छ ।
आज शाखाको सभाहलमा महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले कास्की शाखामा आवद्ध पत्रकारको नामावली पोखरा महानगर प्रमुख मानबहादुर जिसी तथा स्वास्थ्य विमा बोर्ड गण्डकीका संयोजक जिवलाल खरेललाई हस्ताण्तरण गर्दै अभियानको शुभारम्भ भएको हो । यो अभियान पोखरा महानगरपालिकाको सहकार्यतामा भएको हो ।
अब पत्रकार आफ्नो मात्र नभई आफ्नो परिवारलाई समेत स्वास्थ्य विमामा सहभागि गराउन पाउने भएका छन् । पत्रकारसहित ५ जना परिवार सदस्यलाई निशूल्क बीमा गराउन सकिने स्वास्थ्य बिमा बोर्डका गण्डकीका संयोजक जिवलाल खरेलले कार्यक्रममा जानकारी दिए । उनका अनुसार परिवारका सदस्य ५ जना भन्दा बढी भएका थप शुल्क पत्रकारले तिर्नुपर्ने हुन्छ । जसमा थप प्रतिव्यक्ति ७ सय लाग्नेछ । तर ५ जनासम्मको कुनै शुल्क लाग्नेछैन । उनीहरुबापत लाग्ने शुल्क प्रति परिवार ३ हजार ५ सय रुपैँया पत्रकार महासंघ कास्की शाखाले पोखरा महानगरको सहकार्यतामा तिर्नेछ । यो स्वास्थ्य बीमाबाट वर्षको १ लाख सम्मको निशुल्क सुविधा लिन सकिने भएको छ ।
सबै क्षेत्र जसरी नै पत्रकार र तिनका परिवारका विषयमा महानगर साथमा रहेको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए । त्यस्तै धेरै प्रयासका बाबजुत यो अभियान सफल भएको पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले सुनाए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी वद्रीविनोद प्रतीक, प्रतीककी धर्मपत्नी तथा पत्रकार महासंघ कास्कीका साधारण सदस्य सावित्री खनाललाई बीमा कार्ड प्रदान गरिएको थियो ।