पोखरा । गीताञ्जली साहित्य परिवारले प्रदान गर्ने गीताञ्जली साहित्य रत्न पुरस्कार प्रा.डा नारायण अधिकारीलाई प्रदान गरिने भएको छ । प्रतिभा छनौट समितिका संयोजक डाक्टर जगन्नाथ रेग्मीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
पुरस्कारको राशि ११ हजार ५ सय, सम्मानपत्र र दोसल्ला रहेको छ । त्यस्तै बाल साहित्य पुरस्कार दिपशिखा पौडेललाई र मुक्तकमणि राष्ट्रिय पुरस्कार शंकर ज्ञवालीलाई प्रदान गरिने निर्णय समेत गरिएको छ ।
हरेक वर्ष प्रदान गरिने ३ वटै पुरस्कार यही चैत्र १४ गते विशेष समारोहको आयोजना गरी प्रदान गरिने गीताञ्जली साहित्य परिवारका अध्यक्ष शिवप्रसाद गौतमले जानकारी दिएका छन् ।
डाक्टर जगन्नाथ रेग्मी संयोजक रहेको प्रतिभा छनौट समितिमा सदस्य पत्रकार दुर्गा अधिकारी र साहित्यकार रामनाथ अधिकारी संगी रहेका थिए । गीताञ्जली साहित्य रत्न पुरस्कारबाट यसअघि डाक्टर कुसुमाकर न्यौपाने, कवि तेजनाथ घिमिरे, रुद्रबहादुर थापा मगर हितानी, तारा पाखे, शरण आँसु लगायत सम्मानित भइसकेका छन् ।
२०५८ सालमा स्थापित संस्थाले भाषा साहित्य संस्कृतिको जगेर्ना गर्दै बालबालिका युवायुवती, जेष्ठनागरिकलाई समेत आफ्नो साहित्यिक प्रतिभा प्रस्तुत गर्ने अवसर समान रुपले प्रदान गर्दै आएको छ ।
संस्थाले आफ्नो स्थापनादेखि अहिलेसम्म २ सय २० औं साधना प्रभात नियमित रचनावाचन गर्दै आएको छ ।