दिपक के श्रेष्ठ
तपाई मोबाइल चलाउनु हुन्छ? सामाजिक सञ्जालमा जोडिनु भएको छ ? यदि, छ भने तपाइको स्क्रिनमा मनै लोभ्याउने विज्ञापन पक्कै आएको छ ।
कहिले मर्सिडिज बेञ्ज गाडी पाउने अवसर, कहिले एप्पलको आइफोन त कहिले पुरस्कारस्वरुप अमेरिकन डलरको अफर तपाइलाई गरिएको हुन्छ । कुनै नाम चलेको व्यापारिक घराना वा संस्थाकै लोगो प्रयोग गरी ठ्याक्कै उस्तै
लेआउटमा प्रायोजन गरिएको विज्ञापनले जो कोहीलाई आकर्षित गरेको पाइन्छ । साथै, हाल मोबाइलमा अर्बपति विनोद चौधरीले आफ्नो तस्बिरसहित घोषणा गरेको पुरस्कार र अफरसमेत देख्न सकिन्छ ।
यस्ता प्रायोजनार्थ विज्ञापनमा देखाइएको पुरस्कार लक्की ड्रमार्फत बाँडिने र सहभागी हुन त्यस साइट वा लिंकमा गएर आफ्नो युजर आइडी र पासवर्ड टाइप गर्नुपर्छ । यस्तै प्रकारको विज्ञापन करिब १० दिन यता नबिल बैंकको पनि देख्न सकिन्छ ।
जहाँ कोरोना महामारीबाट बाँचेकालाई अनुदानस्वरुप प्रतिव्यक्ति ५ सय डलर अनुदान घोषणा गरिएको पाइन्छ । जहाँ प्रयोगकर्ताले सहभागी हुन उक्त लिंकमा गएर आफ्नो आइडी र पासवर्ड टाइप गर्नुपर्छ ।
यस विषयमा नबिल बैंक अमरसिंह शाखा, पोखराकी प्रमुख शिखा कटवालसँग जानकारी माग्दा उनले त्यस्तो अफर बैंकले नदिएको बताइन् । यसपछि बैंकको मुख्य कार्यालयमा सम्पर्क गर्दा बैंकले यसबारेमा सर्वसाधारणलाई भ्रममा नपर्न भन्दै सूचना प्रेषित गरेको जानकारी दिएको छ ।
बैंकको सूचना प्रविधि शाखाले त्यस्ता लिंकलाई नचलाउन सचेत गराएको छ । शाखाका अनुसार यस्ता विज्ञापन ‘फिसिङ’ (पुरस्कार वा अन्य अफरको प्रलोभन देखाई उनीहरुको सूचना वा जानकारी चोर्नु) हो ।
यस्ता समूह केही देश र प्रायः विदेशबाट सञ्चालित भएको बताउँदै शाखाका एक आइटी अफिसरले भने ‘यदि कसैले त्यहाँ आफ्नो नाम र पासवर्ड टाइप ग¥यो भने उसले उक्त व्यक्ति र बैंक दुबैको साइट ह्याक गर्ने प्रयास गर्छ । जुन व्यक्ति वा संस्थाको सेक्युरिटी सिस्टम कमजोर छ, उसले क्षति व्यहोर्नु पर्ने हुन्छ ।’
उनका अनुसार यस्ता विज्ञापनमा लोभिनेहरुको डाटावेशमा ह्याकरको पहुँच हुन्छ । अझ बैंकको अफर राखेर गरिएको विज्ञापनले बैंकलाई समेत प्रभाव पार्छ । सोही कारण नबिल बैंकले उक्त विज्ञापन ‘आधिकारिक नभएको’ र ‘भ्रममा नपर्न’ भन्दै सूचित गराएको छ