काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले एमालेलाई बनाउन लामो समय त्याग तथा बलिदान गरेको बताएका छन् । आज आफू निकट भेलालाई सम्बोधन गर्दै एमालेका लागि आफूले धेरै बलिदान दिएको र त्याग गरेको बताउँदै पार्टी छोडेर कतै नजाने बताएका हुन् ।
कार्यक्रम अवधिभरी प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका वरिष्ठ नेता नेपालले ओली र आफ्नो सम्बन्ध करिब ४८ वर्षको भएको भन्दै उनीसंग यत्तिकै नछुट्टिने बताएका हुन् ।
नछुट्टिए पनि ओलीविरुद्ध संघर्षलाई जारी राख्ने उनले कार्यक्रममा बताएका छन् ।
पार्टीका सबै कमिटीमा आफ्नो बहुमत भएको नेपालको दावी थियो । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले आफूलाई बहुमत नपुग्ने भए पछि पार्टी प्रवेश नगराएर पूर्व माओवादीबाट आएका नेतालाई कन्द्रीय सदस्य बनाएको उनले आरोप लगाएका छन् ।
कार्यक्रममा नेता नेपालले सर्वोच्च अदालतको समेत आलोचना गर्नबाट पछि हटेनन् । माओवादी केन्द्रसंग भएको पार्टी एकतालाई सही भएको बताउँदै उनले सर्वोच्चले एमाले ब्युत्याएर विचित्र फैसला गरेको र आफू पक्षीय नेता तथा कार्यकर्ता मान्न बाध्य भएको उनले बताए ।
एमाले पार्टी ब्युँतनु भनेको आफूहरु ओलीसंग मिलेर जानु नभएको उनले बताएका छन् । पार्टीको बैठक पहिले नै बोलाउन भने पनि ओलीले आनाकानी गरेको र अनुनय–विनय गर्दा पनि अटेर गरेको नेता नेपालको आरोप थियो ।