काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल राजनीतिक हिसाबले द्वन्द्वमुक्त भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा दलीयरुपमा भाग लिँदै मन्त्री ज्ञवालीले तराईमा चलेको पृथकतावादी र हिंसात्मक गतिविधि चलाउने समूह शान्तिपूर्ण राजनीतिको मूलधारमा आएसँगै नेपाल द्वन्द्वमुक्त भएको बताए । ‘यो महत्वपूर्ण उपलब्धि हो ।’ उनले भने ।
संसद्को प्रारम्भमै पेश हुनुपर्ने अध्यादेशका विषयमा सबै राजनीतिक दलबीच एकै मत र समान धारणा हुनुपर्ने उल्लेख गर्दै मन्त्री ज्ञवालीले निश्चित व्यक्ति प्रधानमन्त्री हुन पाए अग्रगमन नभए प्रतिगमन भन्ने बुझाइ अन्त्य हुनुपर्ने धारणा राखेका थिए । प्रतिनिधिसभा पुनःस्थापनापछि नयाँ ढंगले जान खोजे पनि अहिलेको वातावरणले अझै राम्रो संकेत नगरेको मन्त्री ज्ञवालीको भनाई थियो ।
सर्वोच्च अदालतको फैसलापछि यही संसद्बाट नै राजनीतिक स्थायित्व खोज्ने बाध्यात्मक स्थिति आएको भन्दै उनले सरकारले अदालतलाई कुनै आक्षेप नलगाएको बताए । उनले विसं २०७२ मा संविधान जारी गरेर महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै अहिले संविधान सबैको सर्वस्वीकार्य दस्तावेज बनेको उल्लेख गरे । मन्त्री ज्ञवालीले सरकारले ३ वर्षमा महत्वपूर्ण काम गरेको स्पष्ट पार्दै नेपालको निधारमा लागेको अल्पविकसितको टीका निकट भविष्यमै हट्ने विश्वास व्यक्त गरेका छन् ।
उनले मेलम्ची खानेपानी योजना, सुनकोशी डाइभर्सन, नागढुंगा सुरुङमार्गलगायत महत्वपूर्ण काम गरेको स्पष्ट पारे । ‘मेलम्चीको पानी सुन्दरीजलमा पुगेको छ, अर्को हप्ता काठमाडौंवासीको धारामा पानी झर्छ ।’ उनले भने, ‘५ जिल्लाको विकास गर्ने सुनकोशी डाइभर्सनको शिलान्यास गरेका छौं, घण्टौं जाममा परेर बिरामीले एम्बुलेन्सभित्रै ज्यान गुमाउने अवस्थाको अन्त्य गर्न नागढुंगा सुरुङमार्गको काम तीव्र गतिमा भइरहेको छ ।’ सगरमाथाको उचाइ नेपाल आफैंले मापन गरेको उजले उल्लेख गरे । मन्त्री ज्ञवालीले जनतालाई स्वास्थ्य सेवा सर्वसुलभ ढंगले उपलब्ध गराउने उद्देश्यका साथ सरकारले देशभर ३ सय ९६ अस्पतालको शिलान्यास गरेको उल्लेख गर्दै तामाकोशीको विद्युत् चाँडै बाल्न पाउने बताए । देशले नयाँ उपलब्धि हासिल गरेर अघि बढेको उनले स्पष्ट पारे । सरकारले कोभिड–१९ नियन्त्रण र रोकथाममा महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै मन्त्री ज्ञवालीले कोरोनाबाट निको हुनेको संख्या ९८ प्रतिशत रहेको बताए ।
विश्वका ६० मुलुकले सुरुआतमै आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराएको प्रसंग उल्लेख गर्दै उनले नेपालले पनि प्रारम्भमै नागरिकलाई खोप उपलब्ध गराएको बताए । ‘हामीले १७ लाख व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिइसकेका छौं ।’ उनले भने । कोरोनाविरुद्धको खोप उपलब्ध गराएकामा मन्त्री ज्ञवालीले भारत, चीन र संयुक्त राष्ट्रसंघप्रति आभार प्रकट गरेका छन् ।
मन्त्री ज्ञवालीले नेपालले बाह्य मुलुकसितको सम्बन्धमा उल्लेख्य उपलब्धि हासिल गरेको बताए । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुराको मुद्दा प्रखररुपमा उठाएको उल्लेख गरेका छन् । सो अवसरमा मन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको आशन्न बंगलादेशको मैत्रीपूर्ण औपचारिक भ्रमणबारे सदनलाई जानकारी गराएका थिए । राष्ट्रपति भण्डारीले यही चैत ९ देखि १० गतेसम्म गर्ने बंगलादेशको भ्रमणबाट २ देशको सम्बन्ध थप सुमधुर हुने उनले स्पष्ट पारेका छन् । रासस