माओवादीसंग एकता भाँडिनुमा ओलीको हात छ, साइबर स्याल जिउँदै रहेछन्, आश्चर्य लाग्योः नेता नेपाल

पोखरा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा देखिएको समस्याको मुल कारण प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली भएको आरोप लगाएका छन् ।

आज आयोजना गरिएको आफू पक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको गुटगत मनोवृत्ति, भजन मण्डली तथा अहंकार तथा व्यक्तिवादको चाहनाले एमालेमा समस्या आएको उनले आरोप लगाएका हुन् ।

एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया भाँडिनुमा समेत ओलीकै हात रहेको उनले आरोप लगाएका छन् । एकता प्रक्रिया सम्पन्न भए पनि प्रधानमन्त्री ओलीले २ पार्टीबीचको एकतालाई अगाडि बढ्न नदिएको नेता नेपालको आरोप थियो । ओलीले एकलौटी निर्णय गर्ने, बैठकमा सहभागी नहुने, गुटगत भेला आयोजना गरेर विभिन्न निर्णय एक्लै लिने, कसैको आलोचना सुन्न नसक्ने आफ्नो गल्ती स्वीकार गर्ने तथा अधिनायकवाद लाद्न खोज्ने ओलीको प्रवृत्ति भएको कार्यक्रममा नेता नेपालले आरोप लगाएका छन् । प्रधानमन्त्रीको आफ्नो कुर्सी बचाउन ओलीले संविधानको अपव्याख्या गर्दै पार्टीको निर्णय, सहमति, विधान विपरीत काम गरिरहेको उनले बताए ।

आज आयोजना गरिएको भेलामा ओलीको निरंकुश शासनबाट पीडित भएका सबै उपस्थित भएको उनले बताएका छन् । एकता प्रक्रियामा समस्या ल्याउन नेतालाई एकअर्काविरुद्ध भिडाएर सबैलाई छिन्नभिन्न बनाउन ओली उद्धत रहेको नेता नेपालको आरोप थियो ।

नेता योगेश भट्टराईको हस्ताक्षरलाई दुरुपयोग गरेर भेला स्थगित भएको भ्रम फैलाइएको उनले आरोप लगाए । ओलीका साइबर सेना भनिने साइबर स्यालले उक्त भ्रम फैलाइएकोमा उनको आपत्ति थियो । नेकपा हुँदामात्र साइबर स्यालहरु जिउँदै छन् होला भन्ने आफूले सोचेको तर ओलीका साइबर स्याल अझै पनि जिउँदै रहेकोमा नेता नेपालले आश्चर्य व्यक्त गरेका थिए । त्यस्ता साइबर स्यालबाट जोगिएर हिंड्न उनले आफू पक्षीय नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

कमेन्टहरु
Loading...