दाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले मुलुक हाल जटिल राजनीतिक परिस्थितिबाट गुज्रिरहेको अवस्थामा अबको निकास निर्वाचन मात्र भएको बताएका छन् । आज नेपाल प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो भनाई व्यक्त गर्दै उनले मुलुकको परिस्थिति अनुसार तथा राजनीतिक तनावलाई नियाल्दा निर्वाचनमा जानुको विकल्प नभएको बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यस अगाडि घोषणा गरेको निर्वाचन भने गलत भएको उनको ठहर छ । ओलीको घोषणा गलत भएकाले नै नेपाली कांग्रेसले त्यसको विरोध गरेको उनले बताएका छन् । अब निर्वाचन नै घोषणा गर्ने हो भने आगामी मंसिर तथा चैत्र महिना उचित हुने उनको भनाई थियो ।
अब नेपाली कांग्रेस पनि सच्चिएर जानुपर्नेमा नेता कोइरालाले जोड दिएका छन् । पार्टीलाई सशक्त तथा बलियो बनाउन कांग्रेसमा नेतृत्व परिर्वतन आवश्यक बनेको उनले बताए । आम जनताबाट टाढा हुँदा कांग्रेस कमजोर बनेको भन्दै उनले नेता तथा कार्यकर्तालाई पार्टीको नीति तथा सिद्धान्त बुझाउनका लागि आम नागरिकको घरदैलोमा जान उनले पत्रकार सम्मेलनमार्फत् आग्रह गरेका छन् ।