पोखरा । पोखरा महानगरपालिका–२४ मैदान स्थायी बसोबास भई पोखरास्थित बाराही माविमा अध्यापनरत टंकप्रसाद सुवेदी पहिलोपटक मर्दी हिमालको पदयात्रा गर्दा निकै खुसी देखिन्थे । कोरोनाले थलिएको पर्यटन बिस्तारै पुरानै लयमा फर्कने आशा पलाइरहेका अवस्थामा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एसोसिएसन (टेसा) पोखराद्वारा आयोजित मर्दी हिमाल पदयात्रा तथा पदयात्रा सामग्रीको प्रयोग एंव चिनारी विषयक पदयात्रामा सहभागी उनलाई हिँड्दाको दुःखभन्दा पनि पदयात्रा मार्गमा देखिएको प्राकृतिक सुन्दरताले थकाई मेटाइरहेको थियो ।
जंगलैजंगलको बीचबाट गरिने मर्दी हिमालको पदयात्रा प्राकृतिक दृश्यावलोकनका दृष्टिले निकै आकर्षक गन्तव्यका रुपमा आफूले पाएको उनले बताए । ‘ढकमक्क ढाकिएका जंगलको बीचबीचबाट चराचुरुंगीको चिरविराहट सुन्दै, दृश्य नियाँल्दै हिँड्न पाउनु यहाँको विशिष्टता रहेछ ।’ पर्यटन व्यवसायी उनले भने, ‘कोरोनाले थलिएको पदयात्रा पर्यटन आगामी दिनमा पुनः पूर्ववत् अवस्थामा फर्कने विश्वासमा यस क्षेत्रका पर्यटन व्यवसायी रहेको पायौं ।’
सुवेदी जस्तै यतिखेर मर्दी हिमालको पदयात्रामा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । पर्यटकका लागि यस पदयात्रा मार्गका ठाउँठाउँमा सुविधासम्पन्न होटेल रहेको पदयात्रा मार्गको हाइक्याम्पस्थित ट्रेकेस प्याराडाइजका सञ्चालक सुदीप गौतमले बताए ।
उनका अनुसार पदयात्रा मार्गका अष्ट्रेलियन क्याम्प, पोथना, लब्ली हिल, फरेष्ट क्याम्प, बादलडाँडा, मर्दी हाइक्याम्पलगायत स्थानमा ५० भन्दा बढीको संख्यामा सुविधासम्पन्न होटेलसहित व्यवसायी पर्यटकको पर्खाइमा छन् । नेपालमा पदयात्रा एवम् पर्वतीय पर्यटनको धेरै सम्भावना रहेको बताउँदै नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका सचिवसमेत रहेका उनले भने, ‘कोरोना प्रभावित पर्यटनलाई पुनरोत्थान गर्न आन्तरिक पर्यटनमा विशेष जोड दिनुपर्ने देखिएको छ ।’ केही वर्षयता मर्दी हिमाल पदयात्रामा पर्यटकहरूको आकर्षण बढिरहेको बताउँदै उनले नेपाल पर्यटन बोर्डसहित पर्यटनसम्बद्ध संघसंस्थाले प्रवद्र्धनका गतिविधिलाई अघि बढाउनुपर्ने बताएका छन् ।
पदयात्रामार्गका साथै उक्त क्रममा प्रयोग गरिने सामग्रीको बिक्री वितरण गर्दै आएको व्यवसायीको साझा संस्था ट्रेकिङ इक्युपमेन्ट सप एसोसिएशन (टेसा) पोखराले यस क्षेत्रमा आउने जो कोही पर्यटकका लागि गुणस्तरीय सामग्रीहरू उपलब्ध गराउँदै आएको टेसा पोखराका अध्यक्ष नारायण सापकोटाले बताएका छन् । ‘हामी व्यवसायमात्र नभई पदयात्रा गर्ने पर्यटकका लागि अपरिहार्य सामग्री पनि गुणस्तरीय होस् भन्ने पक्षमा निरन्तर क्रियाशील छौं ।’ उनले भने, ‘नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा टेसा पोखराद्वारा आयोजित मर्दी हिमाल पदयात्रा तथा पदयात्रा सामग्रीको प्रयोग तथा चिनारी विषयक पदयात्रामार्फत पनि हामीले यो सन्देश पर्यटन क्षेत्रमा प्रवाह गर्न खोजेका छौं ।’
कोरोना संक्रमणले पारेको प्रभावका बाबजुद पनि आगामी दिनमा पदयात्रा पर्यटन पूर्ववत् अवस्थामा फर्कने सोचका साथ आफूहरू व्यवसायलाई निरन्तरता दिएको उनले बताएका छन् । मर्दी पदयात्राका क्रममा पदयात्रा मार्गमा पनि व्यवसायी उच्च मनोबलका साथ आगामी दिनमा पर्यटक आउने आशामा बसिरहेको पाइएको होटेल ग्रिन भ्यूका सञ्चालक धनु गुरुङले जानकारी दिएका छन् ।
कोरोनाको समयमा पनि आन्तरिक पर्यटककको आगमन फाट्टफुट्ट भएको उनले बताए । आगामी दिनमा पर्यटकको आगमन बढ्ने आशाका साथ आफूहरू क्रियाशील बनेको उनको भनाई छ । पदयात्रा पर्यटनमा प्रयोग गरिने सामग्रीको बिक्री वितरणलाई प्रभावकारी बनाउने लक्ष्यका साथ पोखरामा २०५४ सालदेखि संस्थागतरुपमा नै ट्रेकिङ इक्युपमेन्ट सप एसोसिएसन (टेसा) क्रियाशील छ ।
पदयात्रा पर्यटनको प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान गर्दै आएको टेसामा हाल विभिन्न ७५ व्यवसायी आबद्ध रहेको निवर्तमान अध्यक्ष रामचन्द्र गिरीले जानकारी दिएका छन् । छोटो समयमा हिमालको काखमा पुग्न सकिने भएकाले मर्दी हिमालको पदयात्रा नेपालीले निकै रुचाएको टेसा पोखराका कार्यसमिति सदस्य एवम् ट्रेकिङ गाइड रमेशराज अधिकारीले जानकारी दिएका छन् ।
‘छोटो समयमा २ दिनमा नै हिमालको फेदीमा पुग्न सकिने मर्दी पदमार्ग हो ।’ उनले भने, ‘हिमाली दृश्यका साथै पदमार्गमा देखिने ठूलाठूला लालीगुराँसलगायत प्रजातिका बोटसहितको दृश्यले जो कोहीलाई लोभ्याउने गरेको छ ।’ समुद्री सतहबाट ५ हजार ५ सय ८७ मिटर उचाइको मर्दी हिमाललाई सर्वप्रथम सन् १९५६ एक स्विस नागरिकले चर्चामा ल्याएका हुन् । सन् १९९० पछि यस क्षेत्रमा पर्यटनका क्षेत्रमा क्रियाशील संस्था हिमालयन इन्काउन्टरले क्याम्पिङ सुरु गरेको गौतमले जानकारी दिएका छन् ।
१९९० देखि २००७ सम्म क्याम्पिङका साथै भैंसीपालन गर्दै आएका स्थानीयवासीले डोकोमा सामान ल्याएर पर्यटकलाई सेवा प्रवाह गरेकामा त्यस यता भने सुविधासम्पन्न होटेलमार्फत् सेवा प्रवाह भइरहेको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।
पछिल्ला समयमा मर्दी ट्रेकमा दिनप्रतिदिन पर्यटक बढ्न थालेसँगै आफूहरूमा उत्साह थपेको र आशा जगाएको बादलडाँडास्थित होटेल ३ सय ६० का सञ्चालक खुसीमान आलेले बताएका छन् । रासस