राष्ट्रिय कार्यकर्ता भेलाको तयारी पुरा

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समुहले आयोजना गर्ने राष्ट्रिय कार्यकर्ता भेलाको तयारी पूरा भएको छ ।

आज पत्रकार सम्मेलनको आयोजना गरेर उक्त समुहले चैत्र ४ र ५ गते आयोजना हुने राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटीका सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, संघ तथा प्रदेशका सांसद, पूर्वसांसद, जिल्ला कमिटीका पदाधिकारी, सम्पर्क कमिटी र मञ्चका सदस्य, गाउँ तथा नगर कमिटीका अध्यक्ष र सचिव, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुख, जनसंगठन तथा पेसागत संगठनका केन्द्रीय सचिवालयका सदस्यका साथै प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

एमाले नेता तथा माधवकुमार नेपाल निकट मानिने योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारवाही गरेको खण्डमा त्यसको लागि आफूहरु तयार रहेको बताए । आवेग र उत्तेजनामा आउने व्यक्ति आफू नभएको भन्दै उनले कारवाहीका लागि तयार रहेको बताएका हुन् । राष्ट्रिय कार्यकर्ता भेला एमालेको नै भएको र सो पार्टीका अध्यक्ष प्रधानमन्त्री ओली भएकाले पनि प्रमुख अतिथिका रुपमा कार्यक्रममा सहभागी हुन उनले आग्रह गरेका छन् ।

कमेन्टहरु
Loading...