काठमाडौं । माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गरेको छ । प्रतिनिधिसभा विघटन पश्चात् प्रधानमन्त्रीको पदमा बसिरहन नैतिकताले नदिने भन्दै माओवादी केन्द्रले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको हो ।
आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ओली पदमा रहिरहन नमिल्ने भन्दै राजीनामा दिनुपर्ने माग गरिएको पार्टीका नेता वर्षमान पुनले जानकारी दिएका छन् । ‘प्रतिनिधिसभा विघटनको निर्णय गर्ने केपी शर्मा ओलीजीको कदम असंवैधानिक भएको अदालतले निर्णय गरिसकेको सन्दर्भमा उहाँले नैतिक रुपमा पदमा रहिराख्न मिल्दैन ।’ उनले भने, ‘राजीनामा दिनुपर्छ भन्ने दलको अडानलाई स्पष्ट गरेको छ ।’
नेता पुनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने सोच नल्याएको पनि स्पष्ट पारेका छन् । अहिले नै समर्थन फिर्ता लिए हतारको निर्णय हुन सक्ने उनको भनाई रहेको छ । माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका विभिन्न मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको भए पनि जवाफ नआएकाले पत्राचार गर्ने बैठकले निर्णय गरेको उनले बताएका छन् । अर्कै पार्टीमा गएको पुष्टि भएको खण्डमा दलको विधान अनुसार कारवाही हुने र सामान्य सदस्य समेत नरहने नेता पुनले स्पष्ट पारेका छन् ।
पार्टीको आजको बैठकले माओवादी केन्द्र छोडेर एमालेतर्फ लागेका नेतालाई फर्काउन ३ सदस्यीय कार्यदल निर्माण गरेको छ । आज बसेको बैठकले उनीहरुलाई फर्काउन नेता पुनसहित देव गुरुङ तथा नारायणकाजी श्रेष्ठ सदस्य रहने गरेर कार्यदल बनाएको हो । माओवादी छोडेका नेतासंग आमनेसामने भएर एकपटक छलफल गर्ने र फेरी पुनःविचार गर्नुस् भन्ने आग्रह गरिने नेता पुनले बताएका छन् ।