गोरखा । आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएपछि गोरखा दरबार संग्रहालय आगामी २ महिनासम्म सबै दिन खुल्ला हुने भएको छ । संग्रहालय अवलोकनमा आउने पर्यटकका लागि पुरातत्व विभागको सहमतिमा हरेक मंगलबार तथा सार्वजनिक बिदाको दिन खुल्ला गर्ने निर्णय गरिएको संग्रहालय प्रमुख नवराज अधिकारीले जानकारी दिएका छन् । ‘यसअघि हरेक हप्ताको मंगलबार र सार्वजनिक बिदाको दिनमा संग्रहालय बन्द हुँदै आएको थियो ।’ उनले भने, ‘अब चैत र वैशाख महिनामा भने सबै दिन संग्रहालय खुल्ला रहनेछ ।’
संग्रहालयमा नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको चिनादेखि विभिन्न शाह वंशका पालामा लडाईं गर्दाका हातहतियार रहेको छ । पर्यटकले पुरातात्विक वस्तु, विभिन्न जातजातिका संस्कृति झल्कने सामग्री, पुराना सिक्का तथा भाँडावर्तन फोटो तथा पेन्टिङका साथै विभिन्न जातजातिका संस्कृति झल्कने आकृति संग्रहालयमा अवलोकन गर्न पाउँछन् ।
पर्यटकले संग्रहालयभित्र रहेका तेल चित्रकक्ष, वंशावली कक्ष, जन्म कुण्डली कक्ष, दिव्य उपदेश कक्ष, हातहतियार कक्ष, धार्मिक परम्परागत कक्ष, जनजातिको झाँकी कक्ष, परिचात्मक कक्ष, भडाँवर्तन कक्ष, श्रव्य दृश्य कक्ष, चैत्य कक्ष र हस्तलिखित गरी १२ वटा प्रदर्शनी कक्षको अवलोकन गर्न समेत पाउने छन् । विसं २०४३ मा गोरखा दरबार संरक्षित स्मारक क्षेत्रको घोषणा गरी संग्रहालयलाई पृथ्वी स्मृति संग्रहालयको रुपमा विकास गर्ने योजना रहे पनि पछि पूरै जिल्लाको पहिचान दिने गरी गोरखा संग्रहालयका रुपमा विकास गरिएको थियो । रासस