एमालेको चियापानमा नेता लालबाबु पण्डितसहित नेपाल पक्षीय ३ सांसद उपस्थित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको समयमा छिट्टै आफूले प्रतिनिधिसभा विघटन गर्नुको औचित्य पुष्टि हुने बताएका छन् ।

आज आफू निकट केन्द्रीय सदस्यको चियापान कार्यक्रममा आफ्नो भनाई व्यक्त गर्दै एमालेका अध्यक्ष समेत रहेका ओलीले पुनःस्थापित संसदमा असहज परिस्थिति सिर्जना भएको र अबको केही समयमा नै प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि हुने बताएका हुन् ।

पुनःस्थापना भएपछि बसको संसदको पहिलो बैठकमा नै अध्यादेश पेश गनए नदिएकोप्रति समेत प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरेका छन् । देश र जनताको हितका लागि संसदलाई कर्म थलो बनाउन खोज्दा पनि नदिइएको उनको आरोप छ । सभामुखले नै जनताको लागि संसदलाई काम गर्न नदिएको प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आरोप लगाएका हुन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आयोजना गरेको चियापान कार्यक्रमलाई पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित उनी निकट नेताहरुले भने बहिष्कार गरेका छन् ।

आज बिहान साढे ११ बजेबाट सुरु भएको चियापान कार्यक्रममा ओली समुहका सबै नेता उपस्थित रहेको बताइएको छ ।

यता चियापान कार्यक्रममा नेकपा विभाजनको समयमा कुनै पनि गुटका लागि नखुलेका नेता लालबाबु पण्डित पनि सहभागी भएका छन् । नेता पण्डितसंगै माधव नेपाल पक्षीय केही नेता सहभागी भएको बताइएको छ ।

चियापान कार्यक्रममा नेपाल समुहमा खुलेरै लागेका सांसद राधादेवी ज्ञवालीसहित समिना हुसेन तथा विष्णु शर्मा पनि सहभागी भएका छन् । चियापान कार्यक्रममा एमालेका उपाध्यक्ष बामदेव गौतम तथा उनी पक्षीय नेता तथा कार्यकर्ता पनि सहभागी नभएको बताइएको छ ।

कमेन्टहरु
Loading...