एमालेको वार्ता निष्कर्षविहीन बन्यो, २८ गतेको निर्णय नमान्ने नेपाल पक्षको अडान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तथा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताबीच आज भएको वार्ता सकिएको छ । भेटवार्ता केहीबेर अगाडि सकिएको हो ।

धुम्बाराहीमा भएको बैठकमा नेता नेपाल पक्षले २८ गते बालुवाटारमा भएका निर्णयहरु फिर्ता लिनुपर्ने माग गरेका छन् ।

वार्तास्थलबाट बाहिरिदै गर्दा सञ्चारकर्मीसंग भनाई राख्दै नेता नेपाल पक्षीय मानिने रघुजी पन्तले आफूहरुले २८ गते बालुवाटारमा भएको निर्णय फिर्ता लिनुपर्ने माग राखेको भए पनि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले ठोस् जवाफ नदिएको बताएका छन् । सर्वोच्च अदालतले नेकपा एमालेलाई एकैसाथ ल्याइदिएको सन्दर्भमा पार्टीलाई एकढिक्का बनाएर अगाढि बढाउनुपर्नेमा समेत छलफल भएको उनको भनाई छ ।

पार्टीमा चर्किएको विवादको करिब ४ महिना पश्चात् दुवै पक्षबीच भेटवार्ता भएको हो । वार्तामा नेपालको तर्फबाट घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम रावल, सुरेन्द्र पाण्डे तथा रघुजी पन्त सहभागी थिए । त्यस्तै प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीको तर्फबाट उनी आफैं बाहेक विष्णुप्रसाद पौडेल, ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ तथा प्रदीप ज्ञवाली सहभागी भएका थिए ।

पार्टीको विवादका कारण एमाले हाल फुटको संघारमा पुगेको छ । पार्टीलाई फुट हुनबाट जोगाउन प्रधानमन्त्री ओलीले नै पहल सुरु गरेका हुन् । सोही पहल अनुरुप नै आजको वार्ता थालनी गरिएको हो ।

अध्यक्ष ओलीले एकलौटी ढंगले विभिन्न निर्णय गरेको भन्दै नेपाल समुह असन्तुष्ट बनेका छन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले २८ गते नेपाल तथा झलनाथ खनाल पक्षीयलाई हटाएर गृहमन्त्री रामबहादुर थापा बादल सहितलाई विभिन्न जिम्मेवारी दिनुका साथै केन्द्रीय सदस्य बनाएका थिए । साथै उनले अध्यक्ष तथा महासचिव बाहेक सबै पद खारेज गर्ने निर्णय गरेका थिए ।

कमेन्टहरु
Loading...