रिना थापा
पोखरा: पोखराको लेकसाइडस्थित फुटट्रयाकमा सानोतिनो व्यवसाय गर्ने व्यापारीलाई शुक्रबार नगर प्रहरी र जनपद प्रहरीले बल प्रयोग गरेको छ ।
नगर प्रहरीले हटाउने क्रममा लछारपछार गरेको र वडा प्रहरी कार्यालय बैदामबाट थप प्रहरी बोलाएर दुव्र्यवहार गरेको फुटपाथ व्यवसायीले बताएका छन् । उनीहरुको समूहले प्रहरी ज्यादतीको विरोध र खोसिएको सामान माग्न महानगरपालिका आउनेक्रममा आइतबार पुनः तनाव सिर्जना भएको छ ।
‘सामान फिर्ता पाउँ’ र घटना बारे छानबिन होस् भनि आइतबार महानगर आइपुगेका व्यवसायी र महानगरका कर्मचारीबीच पुन विवाद भएको हो । दुव्र्यवहार भएको भन्दै महानगरमा ११ जना महिलाले निवेदन दिएका छन् । आफूहरु माथि अन्याय भएको र न्याय हुनुपर्ने उनीहरुको माग छ ।
यसविषयमा महानगरका वरिष्ठ कानुन अधिकृत नारायण प्रसाद शर्माले छानबीन हुने जानकारी दिएका छन् । उनका अनुसार सुरुआतमा व्यवसायीले नगर प्रहरीलाई अपशब्द प्रयोग गरेको आरोप छ । यद्यपि, दुबै पक्षबाट कमी कमजोरी भएको उनको भनाइ छ । ‘एकपक्षीय मात्र कुरा सुनेर भएन, नगर प्रहरीलाई पनि चोटपटक लागेको छ ।’ उनले भने, ‘कमिकमजोरी दुवै पक्षबाट भएको हो, घटना बारे छानविन हुन्छ ।’
उनका अनुसार त्यस समय महानगरबाट १५ जना नगर प्रहरी खटिएका थिए । ड्युटीमा खटिएकामध्ये ४ जना नगर प्रहरीलाई चोटपटक लागेको शर्माले जानकारी दिएका छन् । चोटपटक लाग्नेमा गोपाल गिरी, सुवास गायक, महेश्वर देवकोटा र भानुबहादुर देवकोटा रहेका छन् ।
शुक्रबार दिउँसो करिब ४ बजे लेकसाइड फुटट्रयाकमा व्यवसायी सञ्चालन गरेर बस्ने व्यवसायीलाई हटाउन ताल किनार नगर प्रहरी पुगेका थिए । त्यहीबीचमा सामान्य झगडाबाट सुरु भएको विवाद चर्किदै हातपातमा परिणत भएको थियो । हातपातमा दुवै पक्षका व्यक्तिलाई सामान्य चोटपटक लागेको छ ।
महानगरबाट १५ जना ड्युटीमा खटिएका नगर प्रहरीले समेत विवादलाई थाम्न नसकेपछि महानगरले बैदाम चौकीबाट प्रहरी टोली बोलाएको बताइएको छ । उक्त बैदामको टोलीबाट १ जना महिला प्रहरीले उल्टै महिला व्यवसायीलाई हातपात गरेको आरोप छ ।
त्यसदिन दुव्र्यवहारमा परेकी पार्वती अधिकारीका अनुसार बैदाम प्रहरी कार्यालयबाट सिभिल ड्युटीमा खटिएको १ जना महिला प्रहरीले आफूमाथि हातपात गरेको बताउँछिन् । ‘महानगर प्रहरी सिभिलमा आए, म भागेर रोडपारि पुगिसकेकी थिएँ ।’ उनले भनिन्, ‘पारी पुगिसकेको मलाई आएर १ जना सरले घाँटी नै समातेर ताने । मेरो सामान लगेपछि उनीहरुको पछिपछि पुग्दा महिला नगर प्रहरीले मेरो हात बटार्नुभयो ।’
नगर प्रहरीको उक्त रबैया देखेपछि फुटपाथ व्यवसायीले नगरको गाडीलाई जान निदने निर्णय गरेको उनले बताइन् । त्यत्तिकैमा बैदाम प्रहरी आएर समेत आफूहरुमाथि दमन गरेको उनको आरोप छ । ‘गाडी चल्न नदिने सल्लाह भएपछि बैदाम प्रहरी आइपुगेका थिए ।’ उनले सुनाइन्, ‘मैले बोल्न नपाउँदै उक्त टोलीबाट सिभिल ड्रेसमा आएको १ जना महिला प्रहरीले मेरो कपाल लुछ्नुभयो ।’
शुक्रबारको विवादमा नगर प्रहरीले फुटपाथ व्यवासायीको लुछाचुडी, हातपात, गरेको आरोप छ । उक्त घटनामा १ नगर प्रहरीले आफूमाथि गलत ढंगले दुव्र्यवहार गरेको शान्ती क्षेत्री बताउँछिन् ।
‘म सामान लुकाएर ग्राउण्डबाट भित्र छिरें, भागिसकेर बाटोमा अघि पुगिसकेपछि १ जनाले यो पनि व्यापारी हो भनेर पछाडिबाट छोरा मान्छेले अठ्याएको हो ।’ उनले छातीमा नङले चिथोरिएको दाग देखाउँदै भनिन्, ‘अगाडि बाट २ जना महिला नगर प्रहरीले तानेका हुन् ।’
सोही घटनामा नगर प्रहरीले आफूमाथि लात्ती प्रहार गरेको अर्की व्यवसायी सीता तामाङको आरोप छ । ‘हात हाले, मलाई सामान माग्दा लात्ती प्रहार गरेका हुन् ’ उनले भनिन्, ‘तिनको प्रहारपछि मैले पनि लात्ती प्रहार गरेकी हुँ ।’
नगर प्रहरीले व्यवसायीको सामान उठाएर लैजाँदा आफ्नो नगद ५ हजार र ओपो फोन समेत लगेको आरोप फुटपाथमा कुल्फी बेच्ने गीता खत्रीको छ । महानगरले नगर प्रहरीको गाडीकाे सिसामा तोडफोड भएको समेत जानकारी दिएको छ ।