पार्टी छोडेर गएको हो या होइन, स्पष्ट पारियोस्ः माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका नेता तथा मन्त्रीहरुलाई पार्टी छोडेर गएको हो या होइन भन्ने विषयमा स्पष्ट पार्न निर्देशन दिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको बैठकले माओवादी केन्द्र छोडेर एमालेतर्फ लागेका नेताहरुलाई पार्टीले यस्तो निर्देशन दिएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी छोडेर गएकाहरुलाई स्पष्टीकरण माग्ने निर्णय समेत गरेको जानकारी दिएका छन् । उनका अनुसार मन्त्री पद तत्काल त्यागेर पार्टीमा फिर्ता आउने समेत पार्टीले निर्देशन दिएको छ ।

यसभन्दा अगाडि स्पष्टीकरण मागिएकोमा केही जवाफ नआएकाले अब जवाफ आएको खण्डमा त्यही समय गणना गरिने बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसंग कुराकानी गर्दै श्रेष्ठले बताएका हुन् ।

बैठकमा बोल्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक रुपमा आफूहरुको जित भएको दावी गरेका छन् । केही कानुनी विषयमा ख्याल राख्न नसक्दा राजनीतिक रुपमा मात्र जित हासिल गरिएको उनको भनाई थियो ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा एक भइसकेको अवस्थामा सर्वोच्च अदालतले विभाजन गरेपछि माओवादी केन्द्रका केही नेताले पार्टी छोडेकोमा आफूलाई घाटा लागेको उनले बताएका छन् । अझै पनि केही सम्भावना रहेको र फेरी पनि माओवादीका सबै नेता तथा कार्यकर्तालाई एकस्थानमा लिएर अगाडि बढ्ने कोसिसमा आफू रहेको समेत उनले बैठकमा बताएका थिए । बैठकमा सर्वोच्चले नेकपाको एकतालाई खारेज गरेर पार्टी नै विभाजन गरेर अनावश्यक विषयमा हात हालेको प्रचण्डले आरोप लगाएका थिए । अदालतको फैसलापछि नेपाल कम्युनिस्ट पार्टी नेकपा पहिले कै रुपमा विभाजन हुँदा राजनीतिक रुपमा समस्या उत्पन्न भएको उनको भनाई थियो ।

यता पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने समय आइसकेको बताएका छन् । उनका अनुसार आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता गर्ने या नगर्ने भन्ने विषयमा कुनै निर्णय भएन ।

भोलि बिहान ११ बजे बस्ने सहमतिसहित बैठक स्थगित भएको छ ।

कमेन्टहरु
Loading...