सिराहा बम विस्फोटको घटनाः जनतान्त्रिक मुक्ति मोर्चा गोइत समुहको पर्चा भेटियो

सिराहा । सिराहामा कुकर बम विस्फोट भएको स्थानमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समुहको पर्चा भेटिएको छ । जिल्लाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा आज बम बिस्फोट भएको थियो । सोही बम विस्फोट भएको स्थानमा गोइत समुहको पर्चा भेटिएको हो । उक्त समुहको नाममा पर्चा भेटिएपछि प्रहरीले सोही समुहले बम विस्फोट गराएको हुन सक्ने आशंका गरेको छ ।

विस्फोटमा परेर ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका डिएसपी शालिग्राम शर्माका अनुसार विस्फोटमा परेर घाइते भएकामध्ये १ जनाको अवस्था गम्भीर छ । घाइतेमध्ये सेवाग्राही दिनेकुमार भण्डारीको अवस्था गम्भीर रहेको उनले जानकारी दिएका छन् । उनका अनुसार घाइते सबैको लहान सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्टहरु
Loading...