पोखरा । नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित जगन्नाथ सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कारको अक्षयकोषमा ३ लाख रकम वृद्धि गरिएको छ । कास्कीका प्रथम पत्रकार सिग्देलको परिवारका तर्फबाट उहाँकी छोरी जगदम्बिका घिमिरेले ३ लाख रकम पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
पुरस्कार अक्षयकोषका लागि हालसम्म २ लाख र आज थप ३ लाख गरी जम्मा ५ लाख पुगेको छ । उक्त कोषको ब्याजबाट प्रत्येक वर्ष १ पत्रकारलाई सम्मान अर्पण गरिने महासंघका सचिव रामप्रसाद तिमिल्सेनाले जानकारी दिएका छन् ।
महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पोखराको पत्रकारितामा स्व सिग्देल पु¥याएको योगदानको चर्चा गर्दै सिग्देल सदा स्मरणीय अग्रज पत्रकार भएको बताएका छन् । उनले सिग्देलको स्मृतिमा पत्रकार महासंघले युवा पत्रकारलाई प्रवद्र्धन गर्ने गरी पुरस्कार सञ्चालन गर्दै आएकामा अब पुरस्कार राशिसमेत बढ्ने बताए ।
उनका अनुसार विसं २०६४ मा हिमदूत पत्रकारिता पुरस्कारबाट वितरण हुँदै आएको उक्त पुरस्कार विसं २०६७ बाट पत्रकार महासंघले सञ्चालनको जिम्मेवारी लिएको हो । त्यसयता उक्त पुरस्कारबाट ११ युवा पत्रकार पुरस्कृत भइसकेका छन् ।
उक्त पुुरस्कारको राशि पहिला ११ हजार १ सय ११ थियो भने अब २५ हजार राशिको पुरस्कार हुनेछ । उनले अक्षयकोषको रकम वृद्धिका लागि सिग्देल परिवारलाई धन्यवाद दिँदै आगामी दिनमा पनि आत्मीयता, शुभेक्षा तथा निरन्तर सहयोगको कामना गरेका छन् ।
सिग्देल परिवारका तर्फबाट छोरी जगदम्बिका आफूले प्रदान गरेको रकम धेरै नभए पनि पत्रकार महासंघप्रति जोडिएको भावना ठूलो भएको उनले बताए । उनले बुवाको स्मृतिमा पत्रकार महासंघले पुरस्कार सञ्चालन गर्दै आएकामा धन्यवाद दिँदै आगामी दिनमा सकेको सहयोगलाई निरन्तरता दिने बताए ।
उनले महासंघ परिसरमा बुवाको शालिक राखेर थप सम्मान गरेकामा महासंघ परिवारप्रति हार्दिक आभारसमेत व्यक्त गरे । रासस