प्रधानमन्त्री ओलीको साथ छोडेर माओवादीमा फर्किन्नः उर्जामन्त्री रायमाझी

काठमाडौं । उर्जामन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको साथ कुनै पनि हालतमा नछोड्ने बताएका छन् । एमालेका नवमनोनित केन्द्रीय सदस्य समेत रहेका मन्त्री रायमाझीले आज रिपोर्टस् क्लब नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तथा सांसदको पद गए पनि प्रधानमन्त्री ओलीको साथ नछोड्ने घोषणा गरेका हुन् ।

आफूले सधैं निस्ठा तथा सिद्धान्तसहितको राजनीति गर्ने दावी उनको रहेको छ । प्रधानमन्त्री ओली समेत सिद्धान्तको राजनीतिमा अगाडि बढिरहेकाले उनको साथ नछोड्ने उनले कार्यक्रममा बताएका हुन् । सांसद तथा मन्त्रीको पद गए पनि ज्यान बाँकी रहेको भन्दै उनले यसमा चिन्ता लिनुपर्ने विषय केही नभएको उनको भनाई छ । प्रधानमन्त्री ओलीले हालको अवस्थामा मुलुकको विकास तथा निर्माण र समृद्धिको विचारलाई लिएर अगाडि बढिरहेको उनको दावी थियो । सही एजेण्डाका लागि एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली अगाडि बढिरहेकाले एमालेभन्दा आफूहरुले ओलीलाई साथ दिएको उनले बताएका छन् ।

विचार तथा सिद्धान्तमा अन्तरविरोध भएकाले तत्कालीन नेकपामा विवाद उत्पन्न भएको तथा पद तथा प्रतिष्ठाका लागि मात्रै केहीले ओलीको विरोध गरेको बताउँदै मन्त्री रायमाझीले आफूहरु कुनै पनि हालतमा माओवादी केन्द्रमा फर्किने सम्भावना नभएको स्पष्ट पारेका छन् ।

माओवादी केन्द्र अब पार्टी जलिसकेको र गाँठोमात्र बाँकी रहेको उनको भनाई रहेको छ । मुलुकलाई अस्थिरतातर्फ धकेल्न केहीले सरकार तथा पार्टी चलाउन केही व्यक्तिले प्रधानमन्त्री ओलीलाई अवरोध गरेको उनको दावी रहेको थियो ।

कमेन्टहरु
Loading...