म्याग्दी । फागुन–चैत–वैशाखको मौसममा म्याग्दीको अन्नपूर्ण–६ घोडेपानीको सन्नी होटलका सञ्चालक सन्नी पुनलाई खाना खाने फुर्सद पनि हुँदैनथ्यो । १ वर्ष यता सन्नी मात्र नभएर घोडेपानीका सबै होटल व्यवसायी फुर्सदिलो भएका छन् ।
‘कोरोना र बन्दाबन्दीले बन्द भएको होटल गत माघदेखि खुले पनि अझै तंग्रिन सकेको छैन ।’ उनले भने, ‘खाली होटल रुँघेर बसेका छौं । आन्तरिक पर्यटक फाट्टफुट्ट आएका छन् । त्यतिको भरमा चल्न गाह्रो छ ।’ विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना रोकथामका लागि गत वर्षको चैतदेखि गरिएको बन्दाबन्दी खुलेपछि धेरै क्षेत्र पुरानै लयमा फर्किन थालेका छन् । पर्यटन व्यवसाय भने अझै तंग्रिन नसकेको घोडेपानीको स्नोल्याड होटलका सञ्चालक सुशील पुनले बताए । विगतका वर्षमा यतिबेला पर्यटकले भरिभराउ हुने पर्यटकीयस्थल र त्यहाँका होटलमा यसपालि फागुन सकिनै लाग्दा फाट्टफुट्ट आएका स्वदेशी पाहुना मात्र भेटिन्छन् । ‘विदेशी पर्यटकको आगमन शून्य छ ।’ पुनले भने, ‘स्वदेशी पर्यटकको आगमन अपेक्षाकृत हुन सकेको छैन ।’ घोडेपानीमा बास बसेर पुनहिल घुम्न जाने पर्यटकको एका बिहानै लाम लाग्थ्यो ।
समुन्द्री सतहदेखि २ हजार ८ सय मिटर उचाइमा अवस्थित घोडेपानीमा २५ वटा सुविधा सम्पन्न होटल छन् । इलाका प्रहरी कार्यालय घोडेपानीका अनुसार यहाँ वार्षिक ५० हजार जना भन्दाबढी विदेशी पर्यटक आउँथे । बन्दाबन्दीका कारण होटल बन्द भएपछि त्यहाँ काम गर्ने १ सय जनाभन्दा बढीको रोजगारी गुमेको छ । २ अर्बभन्दा बढीको लगानी भएको घोडेपानीको होटल व्यवसाय संकटमा परेको छ ।
भूकम्प, हुद्हुद आँधी र नाकाबन्दी हुँदा पनि अहिलेको जस्तो सुनसान थिएन घोडेपानी । विगतमा भिडभाड भएर होटलमा कोठासमेत पाउन मुस्किल पर्ने घोडेपानी यसपाली सुनसान र शान्त रहेको पोखराबाट घुम्न आएका मनोज क्षेत्रीले बताए । ‘लामो समय घर र बजारमा थुनिएर बस्नुपर्दा दिक्क भएकाले घुम्न आएको हो ।’ उनले भने, ‘शान्त वातावरणमा प्रकृतिको सौन्दर्यमा रमाउन पाउँदा फूर्तिलो महसुस भयो ।’
यतिबेला घोडेपानी–पुनहिल क्षेत्रको वातावरण बढो मनमोहक छ । जंगलमा गुराँस फुल्न थालेको छ । गण्डकी प्रदेशकै ठूलो गुराँसको जंगल घोडेपानीमा छ । यहाँको जंगलमा रातो, सेतालगायत नेपालमा पाइने ३२ मध्ये १६ प्रजातिका गुराँस पाइन्छ । समुन्द्री सतहदेखि ३ हजार ३ सय १० मिटर उचाइमा अवस्थित पुनहिलबाट सूर्योदय, हिमाल र गुराँसे जंगलको अवलोकन गर्न सकिन्छ ।
पोखराबाट घोडेपानी घुम्न आएका रमेश श्रेष्ठले पर्यटन र होटल व्यवसायीले आन्तरिक पर्यटकलाई लक्षित गरेर प्याकेज ल्याउनुपर्ने बताए । ‘नेपालको पर्यटन व्यवसायको भरथेग गर्ने भनेको अब आन्तरिक पर्यटकले नै हो ।’ उनले भने, ‘विदेशीलेभन्दा नेपालीले खर्च पनि बढी खर्च गर्छन् तर व्यवसायीले त्यहीअनुसारको व्यवहार गर्न र सुविधा दिन सक्नुप¥यो ।’
पर्यटन र होटल व्यवसायलाई पुनःजीवन दिन घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई लक्षित गरेर स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गरिएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले बताएका छन् । पोखरे बगर हँुदै घोडेपानी जोड्ने सडक निर्माण भएकाले गाडीबाटै घुम्न आउन सकिने उनले बताए ।
पर्यटक आगमन ठप्प हुँदा अन्नपूर्ण गाउँपालिकाको चालू आर्थिक वर्षको आन्तरिक आम्दानी प्रभावित भएको छ । पर्यटकीयस्थल घोडेपानी, पुनहिल र तातोपानी कुण्डको प्रवेश शुल्क उठाउन नपाएपछि गाउँपालिकाको १ करोडभन्दा आम्दानी गुमेको हो । गत आव २०७६/७७ मा घोडेपानी–पुनहिल प्रवेश शुल्क र त्यहाँ चिया पसल सञ्चालनका लागि ६५ लाखमा ठेक्का लगाएको थियो । यसैगरी तातोपानी कुण्डको प्रवेश शुल्क उठाउन र त्यहाँ रेष्टुरेन्ट चलाउन ५५ लाखमा ठेक्का लगाएको थियो । घोडेपानी पुनहिल भ्रमण र तातोपानी स्नानका लागि नेपालीलाई प्रतिव्यक्ति ५० र विदेशीलाई १ सय प्रतिव्यक्ति शुल्क तोकिएको छ । यस वर्ष पर्यटक आगमन नभएपछि पर्यटकीयस्थलको प्रवेश शुल्क उठाउने ठेक्का लगाउन नसकिँदा आयस्रोतमा असर परेको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । गत असारमा भएको गाउँसभाले घोडेपानी पुनहिल र तातोपानीको ठेक्काबाट १५/१५ लाख आम्दानी गर्ने लक्ष्य राखेको थियो ।
आर्थिक वर्षको ८ महिनासम्म पर्यटक गतिविधि चलायमान हुन नसकेपछि गत हप्ता भएको गाउँसभाले तातोपानीबाट १ लाख र घोडेपानीबाट ५० हजार आम्दानी हुने गरी बजेट संशोधन गरेको छ । १ लाख ५० हजार आम्दानी गर्ने लक्ष्य राखिएको रातोपानी र पाउद्वार तातोपानी कुण्डबाट १५/१५ हजार र ५० हजार आम्दानी हुने अनुमान गरिएको सेकार्कु तातोपानी कुण्डबाट ५ हजार आम्दानी हुने गरी करको दर घटाएको छ । अमानतमा तोकिएको रकम बुझाएर शुल्क बुझाउनेलाई जिम्मेवारी दिने गाउँपालिकाले जनाएको छ ।
पर्यटकको प्रवेश शुल्क अन्नपूर्ण गाउँपालिकाको मुख्य आन्तरिक आयस्रोत हो । यस वर्ष कोरोनाले आम्दानीसँगै सो परिचालन गरेर हुने विकास गतिविधिसमेत प्रभावित भएको अध्यक्ष पुनले बताएका छन् । रासस