पोखरा । सहारा क्लब पोखराद्वारा आयोजना हुने मोफसलकै चर्चित राष्ट्रिय फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको तयारी तीव्र भएको छ । पोखराको रंगशालामा आगामी चैत २१ देखि २८ गतेसम्म सञ्चालन हुने १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको शनिबार सम्पन्न पत्रकार सम्मेलनमार्फत् आयोजकले जानकारी दिएको हो ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैंया हात पार्नेछ भने उपविजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजकले १ करोड २९ लाख १ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरेको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जनाएका छन् ।
उक्त प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहने छ ।
नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्री स्टार क्लब, नेपाल एपिएफ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, अफिर्कन रूट एसोसिएसन क्यामरुन र सहारा क्लब पोखराको सहभागिता हुने भएका हुन् ।