काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता उपेन्द्र यादवले वर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिन सकिने तर सत्तामा साझेदारी भने गर्न नसकिने स्पष्ट पारेका छन् ।
आज माओवादीसंगको वार्तापछि सञ्चारकर्मीसंग कुरा गर्दै उनले आफ्नो पार्टीका सांसद रेशम चौधरीलाई रिहा गरेमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिन सकिने तर सत्तामा सहयात्रा गर्न नसकिने स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री ओलीसंग हालसम्म सांसद चौधरीको रिहाका विषयमा मात्र कुरा भएको उनको स्पष्टोक्ति थियो ।
आफ्नो पार्टी जनता समाजवादी पार्टी (जसपा) नेपाल सहित माओवादी केन्द्र, नेपाली कांग्रेस लगायतका दल सर्वसत्तावाद विरुद्धको लडाईमा एकै स्थानमा भएको उनको भनाई छ ।
सबै पार्टीसंगको छलफल पश्चात् लगभग सहमति नजिकै पुगेको तर अझै संयुक्त रुपमा बसेर टुंगो लगाउने उनले बताएका छन् ।
जसपालाई प्रधानमन्त्री ओलीले सरकारमा आउन आग्रह गर्दै सांसद चौधरीलाई रिहा गरिदिने आश्वासन दिंदै आएको भए पनि रिहा गर्ने पहल गरेका छैनन् । टीकापुर हत्याकाण्डमा संलग्न भएको अभियोगमा चौधरी हाल जेलमा छन् ।
प्रधानमन्त्री ओलीसंग हाल जसपाले उनको रिहाईको माग गर्दै आइरहेको छ ।
नेकपा एमाले तथा माओवादी केन्द्र फरक–फरक पार्टी भए पनि यति बेला प्रधानमन्त्री ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । आफू नेतृत्वको सरकार जोगाउनका लागि प्रधानमन्त्री ओलीले जसपाको साथ खोजिरहेका छन् ।
यो विषयमा एमाले तथा जसपाबीच बारम्बार छलफल समेत भइरहेको छ ।