नेपाल दुग्ध उत्पादनमा आत्मनिर्भर बन्दै

पोखरा । नेपाल दुग्ध उत्पादनमा आत्मनिर्भर बन्न नसके पनि सोको नजिक रहेको पाइएको छ ।

देशभरि रहेका दुग्ध प्रशोधन उद्योगको छाता संस्था डेरी उद्योग संघको शुक्रबार पोखरामा भएको १२ औं वार्षिक साधारणसभामा हालको दूधको उपलब्धता प्रतिव्यक्ति ७८ लिटर प्रतिवर्ष रहेको जानकारी दिइएको हो । दूधमा आत्मनिर्भर हुन विश्व खाद्य तथा कृषि संगठनको सिफारिसअनुसार दैनिक २ सय ५२ मिलि प्रतिव्यक्ति वा वार्षिक ९१ लिटर प्रतिव्यक्ति आवश्यक पर्नेमा हाल नेपालमा सोअनुसार उपलब्ध नभएको र वार्षिक अझै प्रतिव्यक्ति प्रतिवर्ष १३ लिटर दूध अपुग रहेको संघका केन्द्रीय अध्यक्ष राजकुमार दाहालले बताएका छन् । उनका अनुसार दुग्ध उत्पादनमा आत्मनिर्भरताको नजिक पुग्नु नेपालका लागि ठूलो अवसर पनि हो ।

नेपालमा हाल दूधको उत्पादन २२ लाख ६८ मेट्रिक टन रहेकामा गाईको दूधको हिस्सा लगभग ३० देखि ३५ प्रतिशत र भैंसीको ६५ प्रतिशत रहेको जनाइएको छ । कूल दूध उत्पादन वृद्धि गत वर्षको तुलनामा करिब ४ प्रतिशतको रहेको अध्यक्ष दाहालले जानकारी दिएका छन् । संघका अनुसार नेपालको निजी क्षेत्रको डेरी उद्योगमा ३० अर्बको हाराहारीमा लगानी भएको र ३० हजार रोजगारी सिर्जना भएको छ ।

देशभर दुग्ध उत्पादन व्यवसायमा ५ लाख कृषक परिवार आबद्ध रहेका छन् । दुग्ध क्षेत्रको मात्र कूल राष्ट्रिय उत्पादनमा ९ प्रतिशत योगदान रहेको र दैनिक ५ करोड तथा वार्षिक १२ अर्ब शहरबाट गाउँतर्फ नगद प्रवाह भइरहेका कारण दुग्ध उत्पादन व्यवसाय ग्रामीण स्वरोजगारको मुख्य अंग बनेको बताइन्छ । नेपालमा भारत तथा तेस्रो मुलुकबाट करिब २ अर्बभन्दा बढीको दूध र दुग्धजन्य पदार्थ आयात भइरहेको छ ।

नेपालमा ठूला दुग्ध प्रशोधन उद्योग ४, मझौला ३०, साना ५० र घरेलु तथा साना गरी ५ सयभन्दा बढी दूध उत्पादन गर्ने क्षमताका डेरी रहेको संघका निर्वतमान अध्यक्ष इञ्जिनीयर अरनिको राजभण्डारीले जानकारी दिएका छन् । संघले ससाना डेरी उद्योगले खाद्यको अनुज्ञापत्र र लेवल बिना सञ्चालन भएका कारण उपभोक्ताले पूर्णरुपमा गुणस्तरको प्रत्याभूति गर्न नसकेको तथा अस्वस्थ प्रतिस्पर्धा हुन गएकाले नियमनकारी निकायको ध्यान जानुपर्नेमा जोड दिएको छ ।

त्यस्ता उद्योगमा अनुगमन गरी खाद्य अनुज्ञापत्र, लेबल, भ्याट र प्यानको दायराभित्र ल्याई हालै जारी भएको दूधसम्बन्धी खाद्य स्वच्छता निर्देशिका २०७५ को मूल भावअनुसार दुग्ध क्षेत्रको गुणस्तर अभिवृद्धि गर्न माग गरिएको छ । मौसमअनुसारको दूध उत्पादनको कारण जाडो महिनामा (असोजदेखि फागुनसम्म) उत्पादन बढी भई किसानको दूधले बजार नपाउने अवस्था र गर्मी महिना (चैतदेखि भदौ) सम्म दूधको अभाव भई निर्यातित दुग्धजन्य पदार्थमा निर्भर हुनुपरेको बताइन्छ ।

उत्पादन बढी हुने मौसममा दूधलाई व्यवस्थापन गर्न संघले ‘मिल्क होलिडे’ समस्या न्यूनीकरण गर्न चितवन मिल्क लिमिटेड र पोखरास्थित सुजल डेरीमा लगेर सम्पूर्ण निजी डेरी उद्योगमा बढी दूधलाई धुलो दूधमा रुपान्तरण भइरहेको अध्यक्ष दाहालले बताएका छन् । चालु आर्थिक वर्षमा दुवै उद्योगमा गरी ९० लाख लिटर दूध धुलो दूधमा परिणत गरिसकिएको बताइन्छ ।

भारतको बहुर्राष्ट्रिय कम्पनी अमूलले नेपालको पूर्वी क्षेत्रबाट दूध किनेर सीमाभन्दा ७ किमी टाढा सिक्किममा रहेको आफ्नो प्रशोधनशालामा लाने योजना सार्वजनिक गरेको भन्दै संघले सो कार्य नेपाली अर्थतन्त्रको लागि चिन्ताजनक रहेको जनाएको छ । यसबाट कच्चा दूध निर्यात गरी प्रशोधित दुग्ध पदार्थ आयात गर्नुपर्ने अवस्था आउने र नेपाली डेरी उद्योग आफ्नो क्षमताभन्दा कममा सञ्चालन हुने बताइन्छ ।

साधारणसभामा गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारको सामूहिक प्रयासबाट दुग्ध उत्पादन र प्रशोधनलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् । कृषक र उद्योगीलाई सहुलियत ऋण सुविधा उपलब्ध गराएर प्रोत्साहित गर्न प्रदेश सरकारले कृषि ऋणमा ब्याज अनुदानको कार्यक्रम शुरु गरेको उनले जानकारी दिएका छन् । रासस

कमेन्टहरु
Loading...