साविकअनुसार नै पशुपतिनाथ मन्दिर खुला

काठमाडौं । महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुने भएको छ । कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि गत वर्ष चैत ११ गते लागू गरिएको बन्दाबन्दीअघिकै समयानुसार मन्दीर खुला हुने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले बताएका छन् । विसं २०७६ चैत ११ गते कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि बन्दाबन्दी जारी गरिएपछि पशुपतिनाथ मन्दिरमा भक्तजनलाई दर्शन गर्न पनि रोक लगाइएको थियो । कोरोनाको जोखिम कम हुँदै गएपछि पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म मन्दिर खुला गरिएको थियो ।

बिहीबार महाशिवरात्रिपछि आजदेखि भने विसं २०७६ चैत १० गतेसम्म खुला गरिएअनुसार मन्दिर खुला गरिएको कोषका कार्यकारी निर्देशक डा खतिवडाले जानकारी दिएका छन् । आजदेखि नै पशुपतिनाथ मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुने भएको छ । मध्याह्न करिब एक घण्टा भने पशुपतिनाथको पूजा एवं भोगका लागि मन्दिर बन्द गर्ने विधि छ ।

विशेष पूजा निरन्तर

कोरोनाकालमा रोकिएको विशेष पूजा कोषले फागुन २५ देखि सुरु गरेको छ । हाल १ हजार १ सयदेखि २७ हजारसम्मको विशेष पूजा रसिद काटेर गर्न थालिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिएका छन् ।

पशुपतिनाथ मन्दिरमा १ हजार १ सय देखि २५ लाखसम्मको विशेष पूजा हुने गरेको छ । कोषले महाशिवरात्रिको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गरेको हो । महाशिवरात्रिका अवसरमा बिहीबार भने ५ हजार १ सय र ११ हजारका गरी २ किसिमका विशेष पूजामात्र गरिएको थियो । महाशिवरात्रिका दिन ५ हजार १ सय को रसिद काटी विशेष पूजा गर्नेबाट २ र ११ हजारको रसिद काटी पूजा गर्नेका तर्फबाट ४ कर्तालाई मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि तय गरेको छ । विशेष पूजाबाट कोषलाई वार्षिक ९ देखि १० करोडसम्म आम्दानी हुने गरेको छ । आर्थिक वर्ष २०७५/२०७६ मा विशेष पूजाबाट ९ करोड ४० लाख ९३ हजार १ सय ४५ आम्दानी भएको थियो । गत वर्ष चैतदेखि नै कोरोनाका कारण विशेष पूजा रोकिएको थियो । कोरोनाका कारण करिब ९ महिना मन्दिरसमेत बन्द भई विशेष पूजा रोकिँदा पनि ६ करोड १ लाख ८९ हजार ४ सय ७५ आय भएको कोषाध्यक्ष थापाले बताएका छन् ।

शनिबार साधु सन्तको बिदाई

महाशिवरात्रिमा पशुपतिनाथ दर्शनमा आउनुभएका साधुसन्तलाई शनिबार दक्षिणासहित बिदाई गरिने भएको छ ।

शनिबार बिहान ९ बजेदेखि साधुसन्त बिदाइको कार्यक्रम राखिएको कार्यकारी निर्देशक खतिवडाले सुनाए । यस वर्ष कोषले १ सयदेखि १५ हजारसम्म दक्षिणा दिएर साधुसन्त बिदाई गर्ने तयारी गरेको छ ।

साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिएर बिदाई गरिने कोषले जनाएको छ । यसैगरी गुठी संस्थानले पनि साधुसन्तलाई दक्षिणा एवं फाल्गुन शुक्ल एकादशीका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले संकल्प गरेका सामग्री दिएर बिदाई गरिन्छ ।

फागुन कृष्ण एकादशीदेखि औंसीसम्म संस्थान र कोषले साधुसन्तलाई बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गर्ने विधि छ ।

साधुसन्तको बिदाई नभएकाले पशुपति क्षेत्रमा आज पनि भक्तजनको चहलपहल छ । महाशिवरात्रिका अवसरमा बिहीबार मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न नपाएका भक्तजन आज बिहानदेखि भीड लागेको कोषले जनाएको छ । रासस

कमेन्टहरु
Loading...