कमलपोखरी पुनःनिर्माणको काम ७० प्रतिशत सम्पन्न

काठमाडौं । कमलपोखरी पुनःनिर्माणको काम ७० प्रतिशत सकिएको छ । अहिले पोखरी निर्माणको काम सम्पन्न गरी पोखरी वरपर सौन्दर्यको काम भइरहेको छ । आगामी १ महिनाभित्र सबै सक्नेगरी पुनःनिर्माणको काम भइरहेको काठमाडौं महानगरपालिकाले जानकारी गराएको छ । सौन्दर्यको कामसँगै काठको केही कलात्मक बुट्टा कुँद्ने काम पनि भइरहेको कामपा भौतिक पुर्वाधार महाशाखा प्रमुख राम थापाले जानकारी दिएका छन् । उनका अनुसार अबको केही दिनभित्र पोखरीमा पानी राखिन्छ ।

पुनःनिर्माणपछिको सुरुआती चरणमा एक लाख लिटर पानी भर्ने योजना छ । सम्पदा पुनःनिर्माणलाई पर्यटनसँग जोडेर दिगो व्यवस्थापनमा कामपाको ध्यान केन्द्रित भएकाले अनावश्यक भ्रम सिर्जना नगर्न सबैमा आग्रह गरिएको छ । १ वर्षभित्र सक्ने गरी अघिल्लो असार १९ गते कमलपोखरी पुनःनिर्माणका लागि शिलान्यास भएको थियो । पोखरी पुनःनिर्माणको जिम्मा धनञ्जय कँडेल जेभी रानीबारीले पाएको छ । निर्माण कम्पनीले पोखरीसँगै उद्यान निर्माणको काम पनि गरिरहेको छ । उद्यान अपांगमैत्री हुनेछ भने बीचमा पानीको फोहोरा हुनेछ ।

पोखरीको चारै कुनामा कमल रोप्नका लागि साना–साना पोखरी बनाइनेछन् । आगन्तुकलाई बस्नका लागि चौतारा पनि निर्माण गरिनेछन् । वरिपरि बिजुली जडान गरेर झिलीमिली पारिनेछ । त्यहाँ खुला व्यायाम गर्ने ठाउँ, ब्याडमिन्टन र बास्केटबल खेल्ने ठाउँ हुनेछ । पूर्वतिर मूलगेट हुने पोखरी प्रवेश गर्न ३ वटा प्रवेशद्वार बनाइने योजनाअनुरुप काम भइरहेको छ ।

कामपाले यसअघि नै कमलपोखरी विस्तार योजनाअनुरुप महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्ट्स क्लबको भवन र राधे–राधेको सत्संग रहेको स्थानलाई खुला गरिसकेको छ । कामपाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार अब चारैतिरका कुनामा काठको कलात्मक मण्डप बनाउने योजना छ । ‘त्यहाँ कंक्रिटको प्रयोग गर्दैनौं ।’ उनले भने । उनले बाहिर चर्चा गरेजस्तो पोखरीमा कंक्रिट संरचना प्रयोग नगरिएको पनि दाबी गरेका छन् । कामपाले करिब २४ रोपनीमा कमलपोखरीलाई ‘सुन्दर बनाउने’ पहल २०७६ असारबाट सुरु गरेको हो । त्यसका लागि ६ करोड ३६ लाखको ठेक्का पाएको धनञ्जय–कँडेल जेभीले पोखरी वरिपरि सिँढी बनाउने काम गरिरहेको छ ।

कामपा प्रमुख विद्यासुन्दर शाक्यले मूर्त–अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र बचावट, मर्मतसम्भार तथा जीर्णोद्धारको काम कामपाको दायित्व रहेकाले सोहीअनुरुप यस पोखरी पुनःनिर्माण अघि बढाइएको बताएका छन् ।

प्रमुख शाक्यले भने, ‘अहिले कमलपोखरीको मौलिकता बचाउने नारा लागिरहेको छ, यसको मौलिकता के हो हामीलाई दिनुस् भन्दा पुरातत्व विभाग आफूलाई थाहा छैन भन्छ । कमलपोखरी पुनःनिर्माण गर्दा त्यहाँको वातावरण कसरी बिग्रियो भन्दा त्यसको तथ्यमा उत्तर कसैले दिँदैन । यस प्रकारको विरोधलाई कसरी बुझ्नु ? यो त विरोधका लागि विरोध मात्र हो ।’ पोखरी पुनःनिर्माण गर्दा क्षेत्र बढाउन लागिएको प्रसंग उल्लेख गर्दै शाक्यले भने, ‘कामपाले कमलपोखरी बिगार्न वा नास्न खोजेको होइन । पहिलेभन्दा पोखरीको आकार बढाउन डिलमा रहेको प्रहरी वृत्त स्थानान्तरण गरिसकिएको छ । क्लबको भवन हटाउने काम भएको छ । राजनीतिक अभिष्ट भएका मानिस अहिले सम्पदा अभियानकर्मीको खोल ओढेर विरोधमा आएको महसुस भएको छ । यसमा सबै सतर्क हुन आवश्यक छ ।’

कमलापोखरी पुनःनिर्माणका क्रममा पोखरीको माटो निकालेर आधुनिक निर्माण सामग्री प्रयोग गरी ऐतिहासिक सम्पदाको अस्तित्व विलिन गर्न खोजिएको भन्दै रानीपोखरीमा जस्तै पुरानै शैलीमा निर्माण गर्नुपर्ने सम्पदाप्रेमी आलोक तुलाधारले धारणा राखेका छन् । आधुनिक निर्माण सामग्री प्रयोग नगर्न र पोखरीको अतिक्रमित जमिन फिर्ता ल्याउने विषयमा कामपालाई पटक–पटक लिखितरूपमा ध्यानाकर्षण गराउँदासम्म सुनुवाई नगरेकाले थप कानूनी प्रक्रिया अघि बढाउने तुलाधरको भनाई छ । रासस

कमेन्टहरु
Loading...