काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा छलफल गर्न आज जनता समाजवादी पार्टी तथा सरकारबीच वार्ता हुँदै छ ।
आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता हुने जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् । जसपा नेताहरुको अनुसार सरकार तथा जसपाबीचको आजको बैठक निर्णायक हुने छ ।
बिहीबार समेत जसपा तथा सरकारबीच वार्ता भएको थियो । उक्त वार्तामा प्रधानमन्त्री ओली समेत सहभागी भएका थिए । हिजोको बैठकमा दुवै पक्षले कार्यदलस्तरमा छलफल गरेर निर्णयमा पुग्ने बताएका थिए । सोही कारणले पनि आजको बैठकलाई चासोका साथ हेरिएको छ ।
हिजोको वार्तामा प्रधानमन्त्री ओली जसपाले राखेको मागप्रति सकारात्मक रहेको नेता कर्णले बताएका छन् । प्रधानमन्त्री ओलीको सकारात्मकता देखेर पनि आजको वार्ता निर्णायक हुने अनुमान गरिएको नेता कर्णको भनाई रहेको छ ।
जनता समाजवादी पार्टी सरकारका लागि निर्णायक भइरहेको अवस्थामा उसले सरकारसंग टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीको रिहाईलाई मुख्य प्राथमिकता दिएको छ ।
साथै उसले संविधान संशोधन हुनुपर्ने, मधेस आन्दोलनका मुद्दा फिर्ता गर्नुपर्ने लगायतका माग सरकार समक्ष पेश गरेको छ ।