नागढुंगा सुरुङमार्ग निर्माण ९ प्रतिशत

काठमाडौं । नागढुंगा–सिस्नेखाला सुरुङमार्ग निर्माण अघि बढेको छ । अहिलेसम्म सुरुङको ९ प्रतिशतभन्दा बढी निर्माण भइसकेको छ । गत वर्ष कोभिड–१९ प्रभावका कारण निर्माण सुस्त भए पनि चालु आवमा निर्माणले गति लिइरहेको नागढुंगा सुरुङमार्ग आयोजनाले जनाएको छ । गत वर्षसम्म तोकिएको तालिकाभन्दा धेरै ढिलाइ भए पनि अहिले झण्डै १ महिना मात्रै ढिला भएको आयोजना प्रमुख नरेशमान शाक्यले बताएका छन् । अहिले सुरुङमा चौबीसै घण्टा काम भइरहेको छ । उनले भने, ‘शनिबारबाहेक अरु दिनमा रातदिन काम भइरहेको छ ।’

सुरुङ खन्ने कामसँगै अहिले आवश्यक पर्ने सहायक पूर्वाधार निर्माणको कामसमेत अघि बढिरहेको छ । पूर्वतर्फबाट मुख्य सुरुङको ४९ मिटर र पश्चिमतर्फबाट १ सय ४९ मि खनिसकिएको आयोजनाले जनाएको छ । आपत्कालीन प्रयोगका लागि बनाइएको सुरुङ ४५ मि खनिएको छ । सुरुमा कठिन भूगोलमा सुरुङ खन्ने काम भइसकेकाले अब खन्न सजिलो हुने प्रमुख शाक्यले बताएका छन् । उनले भने, ‘अबको दिनमा सुरुङको गति बढ्नेछ ।’ सोही आयोजनाअन्तर्गत मुख्य सुरुङको अगाडिपट्टि नागढुंगामा ‘ओभरपास’ निर्माण भइरहेको छ ।

सुरुङसम्म पुग्ने पहुँच सडक निर्माण अघि बढेको छ । आयोजनाका कारण खानेपानीको समस्या आउन सक्ने भएकाले विकल्पका रुपमा पूर्वाधार निर्माण अघि बढिरहेको छ । पहुँच सडक र ‘ओभरपास’ डेढ महिनामा निर्माण सकिने बताइएको छ ।

आयोजनाले सिस्नेरी खोलालाई अर्कातर्फ फर्काएर सम्याउन लागेको छ । सो स्थानमा स्थानीयवासीको उत्पादन संकलन गर्ने केन्द्रलगायत विभिन्न पूर्वाधार निर्माणका लागि खोला पुरिइरहेको प्रमुख शाक्यले बताए । ठूलो मैदान बनाउने काम १ चरणको पूरा भएको उनको भनाई छ । आयोजनाले सुरुङ खन्नका लागि १६ महिना लाग्ने गरी तालिका बनाएको थियो । त्यसमध्ये अहिले १ महिना सकिएको प्रमुख शाक्यले बताए । अबका समयमा १५ महिनामा खनिसकिने गरी काम अघि बढेको छ । खन्ने कामपछि सुरुङमा अन्तिम काम हुनेछ । त्यस क्रममा बत्ती जडान, आगो लाग्दा निभाउनका लागि बत्तीको व्यवस्थापन, सिसिटिभी राख्नेलगायत काम हुनेछ ।

निर्माणस्थलमा अहिले नेपाली र जापानी जनशक्ति कार्यरत छ । नेपाली इञ्जिनियर झण्डै ९० र परामर्शदाता कम्पनीका ३ जना छन् । निर्माण कम्पनीका २४ प्राविधिक जनशक्ति त्यहाँ कार्यरत छन् । अदक्ष जनशक्तिमा भने सबै नेपाली नै छन् । अहिले झण्डै ३ सय ५० कामदार कार्यरत छन् । सडक विभागका १४ प्राविधिक जनशक्ति निर्माणस्थलमा रहेको प्रमुख शाक्यले बताएका छन् । उनले भने, ‘नेपालको पहिलो सुरुङ भएकाले नेपाली प्राविधिकलाई पनि सिक्नका लागि अवसर भएको छ ।’

गत वर्ष असोजमा कम्पनीले सडक विभागसँग ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । जापान सरकारको ‘सफ्ट लोन’मा सुरुङ निर्माण गर्ने गरी सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुंगा–नौबीसे सडकखण्डमा दैनिकरूपमा हुने सवारी चाप कम हुने अपेक्षा गरिएको छ । त्यस स्थानमा धेरै सवारी साधन र व्यक्ति अलपत्र पर्ने गरेकामा समाधान हुनेछ । सोको समाधानसँगै पेट्रोलियम पदार्थको बचत पनि हुनेछ । आयोजनाअन्तर्गत साढे ९ मिटर र ४ मिटर गरेर २ वटा सुरुङ निर्माण हुनेछ ।

२ ‘फ्लाइओभर’, १ सर्भिस सेन्टर र ३ दशमलव १ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुख र सतुंगलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ । अन्तर्राष्ट्रिय मापदण्डानुसार एउटा लेनको चौडाइ साढे ३ मिटर हुन्छ । ३ लेन नपुगे पनि मुख्य सुरुङमार्गमा ३ सवारी सहज आवतजावत गर्न सक्ने छन् । एउटा गाडी बिग्रँदा दुइटै गाडी चल्न सक्नेछन् । सहायक सुरुङ तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्नेछ ।

सुरुङमार्ग खन्दा आएका मजबुत ढुंगा र माटो त्यहीं निर्माणका क्रममा प्रयोग हुनेछ । कमजोर ढुंगामाटालाई भने सिस्नेखोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिनेछ । सो स्थानमा बसपार्क र तरकारी संकलन केन्द्र लगायत कक्ष हुनेछ ।

निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनीबेंसी नगरपालिकामा नै हस्तान्तरण गर्ने योजना छ ।

हाज्माआङ्दो कर्पाेरेसन र विभागबीच गत वर्ष असोजमा सम्झौता भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष कात्तिक ५ गते त्यसको उद्घाटन गरेका थिए । त्यसको केही समयपछि नै निर्माण सुरु भएको थियो । रासस

कमेन्टहरु
Loading...