दिपक के श्रेष्ठ
पोखरा महानगपालिकाको पाँचौ स्थापना दिवसमा सम्बोधन गर्ने क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेकपा एमालेको तारिफै तारिफ गरेका छन् ।
प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्ने क्रममा मुख्यमन्त्री गुरुङले अदालतको फैसलापछि नेकपा एमाओवादीका सांसद पनि एमालेकै भएको बताएका हुन् । माओवादीका सांसदहरुले सूर्य चिन्हबाट चुनावमा जितेर आएकाले उनीहरु सबै एमालेकै सांसद भएको दाबी गरे ।
‘एमाओवादी भन्नै मिल्दैन’ गुरुङले भनेका छन् ‘उहाँहरु सबैले सूर्य चिन्ह लिएर चुनाव लड्नु भएको हो, जित्नु भएको हो, यसकारण सबै एमालेका सांसद हुन् ।’ पार्टी बेग्लाबेग्लै भएपनि चुनाव चिन्ह एमालेको लिएर जितेपछि एमाओवादीले दायाँबायाँ गर्न नमिल्ने उनको तर्क छ ।
प्रधानमन्त्री केपी ओली शर्माले विकासको लहर ल्याएको बताउँदै उनले यस सरकारलाई कसैले तलमाथि गर्न नसक्ने बताए । खुशी हुँदा मात्तिएर लड्डु खाइहाल्ने र दुखी हुँदा आत्तिएर झोक्राइहाल्ने स्वभाव एमालेको नभएको गुरुङको प्रतिक्रिया छ ।
उनले जतिसुकै प्रपञ्च रचेपनि केपी ओलीलाई पराजित गर्ने अर्काे व्यक्ति राजनीतिमा नभएको उनले चर्चा गरे । ‘मैले प्रधानमन्त्री ओलीको तारिफ गरेको जस्तो लाग्ला तर वास्तविकता यही हो’ गुरुङले भने ।
सोही अवसरमा उनले पोखरा महानगरलाई बधाई एवं शुभकामना दिँदै प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको जनाए ।