झापा । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विभिन्न सर्तसहित सरकारमा जान सकिने बताएका छन् । आज झापामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले मुख्य सर्त अबको १ वर्षभित्र निर्वाचन गराउने भएको र सोही अनुसार सरकार निर्माणमा जुट्नुपर्ने बताएका हुन् । हाल मुलुकको राजनीतिक परिस्थिति तथा समस्या समाधानका लागि चुनावको अर्को विकल्प नभएको उनको भनाई छ ।
पत्रकार सम्मेलनमा उनले २०७८ सालको चैत्रभित्रमा निर्वाचन गराउनुपर्नेमा जोड दिएका छन् ।
यो समयभन्दा पछाडि निर्वाचन धकेलिएको अवस्थामा मुलुकले ठूलो क्षति तथा नोक्सानी बेहोर्नुपर्ने उनले कार्यक्रममा चेतावनी दिएका छन् । हालको मुलुकको अन्योलपूर्ण अवस्थालाई नेपाली कांग्रेसले निकास दिन सक्ने उनको दावी थियो ।
नेता कोइरालाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन नहुने बताए । प्रधानमन्त्री ओलीले संविधानलाई ध्वस्त बनाउन चाहेकाले उनी नेतृत्वको सरकारमा सहभागी नहुने उनले स्पष्ट पारेका छन् ।