पठाओका राइडरकाे अटेरीपनले ट्राफिक प्रहरी हैरान

 

गन्थन डेस्क

काठमाण्डाैंः राजधानीमा हुनुहुन्छ र कतै पुग्नु छ, त्यो पनि छिटो भने तपाइलाई सहज सवारी साधन हो ‘पठाओ ।’ लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओ जति सुविधाजनक र छिटो, छरितो हुँदै आएको छ यसबाट ट्राफिक प्रहरी र अन्य सार्वजनिक सवारी धनी भने हैरान भएका छन् ।

पठाओका राइडरहरु राजधानीको व्यस्त स्थानमा हुलै बाँधेर बस्ने गरेका छन् । मुख्यतः सुन्धारा क्षेत्रमा समूह बनाएर बस्दा सवारी आवागमनमासमेत बाधा पुगेको त्यहाँ खटिएका ट्राफिक प्रहरीले बताए । पठाओको समूह नै सुन्धारामा यात्रु कुर्दा आफुहरुलाई मर्का परेको सफा टेम्पोका चाकल बताउँछन् । एक चालकले भने, ‘फोन गरे भने यात्रु लिन जाने हो नी, तर यहाँ कुरेर बसिदिन्छन् ।’

सुन्धारमा पठाओका राइडरले हुलै बाँधेर बस्दा मंगलबार ट्राफिक प्रहरीले हस्तक्षेप गरी उनीहरुको सवारी चालक अनुमतिपत्र लियो । उनीहरुका कारण सवारी आवागमनमा बाधा परेको भन्दै सम्झाउँन खोज्दा राइडरहरुले प्रतिवाद गरे । दुई जनासम्म बस्न अनुरोध गर्दा अटेर गरेपछि प्रहरीले १४ जनाको अनुमतिपत्र लिएको हो ।

 

 

प्रहरीले उनीहरुको अनुमति पत्र लिएको एकैछिनमा अन्य राइडर थपिए । केहि छिनको गलफत्तीपछि ४ जना त्यहाँ बसेर अन्यलाई हटाउन ट्राफिक प्रहरी सफल भयो । सुन्धारा क्षेत्रमा हरेक दिन ट्राफिक प्रहरी र पठाओका राइडरबीच अनबन भइरहने त्यहाँका पसलेहरु बताउँछन् ।

 

 

राइडहरुकाकारण दैनिक समस्या निम्तिने बताउँदै ड्युटीमा खटिएका ट्राफिकले भने ‘उनीहरु मापदण्ड बाहिर जान खोज्छन्, यात्रु कुर्ने काम उनीहरुको हैन तैपनि हामीले अवरोध गरेनौं तर हुलै बाँधेर बस्दा समस्या भएको छ ।’ उनका अनुसार सुन्धारा र अन्य भीडभाड हुने ठाउँमा राइडरहरु अटेर गरी यात्रु कुरेर सवारी आवागमनमा समस्या निम्त्याइरहेका छन् ।

पठाओको सेवा लिन यसको एप डाउनलोड गरी कलमार्फत सेवा लिन सकिन्छ । राजधानीमा दैनिक डेढ लाखले सेवा लिने गरेको पठाओको दाबी छ ।

कमेन्टहरु
Loading...