विप्लव पुत्र प्रकाश भन्छन् : हाम्रो एजेण्डा संयुक्त सरकार र जनमत संग्रह

 

दिपक के श्रेष्ठ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेकपाले जनमत संग्रहलाई मूख्य एजेन्डा बनाएको छ ।

फागुन २१ गते सरकारसँग ३ बुँदे सम्झौतामार्फत शान्तिपुर्ण राजनीतिक यात्रा सुरु गरेपछि विप्लवले ‘आत्मसमर्पण’ गरेको हो कि भन्ने आशंकालाई चिर्दै नेपाली समाजको वैज्ञानिक विकासको एजेण्डालाई सार्थक रुप दिन खुल्ला राजनीतिमा आएको उल्लेख गरेको छ ।

विप्लवको अबको राजनीतिक यात्राका विषयमा कुरा गर्दै विप्लव पुत्र प्रकाशले भनेका छन्, ‘अब पार्टी थप जिम्मेवार भएर अघि बढ्नेछ, संसदीय भुँमरीको चक्रब्युहबाट देशलाई विकासतर्फ अघि बढाइनेछ ।’ हाल पार्टीअन्तरगत अखिल नेपाल जनस्वास्थ्य महासंघको महासचिवको जिम्मेवारीमा रहेका प्रकाशले अब जनमत संग्रहको मुद्दालाई अघि बढाउने जानकारी दिए ।

संसदीय व्यवस्थामा साम्यवाद केवल कल्पनामात्र भएको भन्दै प्रकाशले अब जनमत संग्रहमा जान्ुपर्ने बताएका छन् । ‘के एजेण्डामा ?’ भन्ने प्रश्नमा प्रकाशले भने, ‘वैज्ञानिक समाजवाद वा दलाल पूँजीवादी व्यवस्था भन्नेमा जनमत संग्रह गराई मुलुकको राजनीतिलाई स्पष्ट दिशा दिन हामी शान्तिपूर्ण राजनीतिमा आएका हौं ।’

साम्यवादका नाममा कम्युनिष्ट पार्टीहरु संसदीय दाउपेचमा लागेको उनको ठहर छ । अहिलेको व्यवस्था दलाल पूँजीवादी व्यवस्था भएको भन्दै उनले बैज्ञानिक समाजवादले देशलाई एक ढिक्का बनाई अग्रगमनतर्फ लैजाने उनले दाबी गरे ।

वैज्ञानिक समाजवादका विषयमा पार्टी र संगठनलाई प्रशिक्षण दिई जनमानसमा एजेण्डा लैजाने योजना अनुरुप प्रकाश हाल चितवनमा रहेका छन् । सोही क्रममा उनले विप्लव खुल्ला राजनीतिमा आएपनि आफ्नो एजेण्डासँग कहिल्यै सम्झौता नगर्ने उनले प्रष्ट्याए । उनले भने, ‘पार्टीले आफ्नो राजनीतिक एजेण्डामा कहिल्यै पनि आत्मसमर्पण गर्दैन ।’

मुलुकको राजनीति विकासक्रम अप्ठ्यारो बाटोमा अघि बढिरहेकाबेला विप्लव समूहको पनि योगदान आवश्यक रहेको उनले सुनाए । अब मुलुकमा प्रगतिशील पक्षधरहरुको संयुक्त अन्तरीम सरकार आवश्यक रहेको उनले उल्लेख गरे । यस एजेण्डामा विप्लव समूह सरकारमा जानसक्ने उनले संकेत गरे । यद्यपि, सरकारमा रहेर पनि जनमत संग्रहको मुद्दालाई अघि बढाउने पार्टीको निष्कर्ष रहेको प्रकाशको भनाई छ ।

आगामी दिनमा ओली समूहसँग पार्टी एकीकरण हुने सम्भावनाबारे राखिएको प्रश्नमा उनले ‘नो एण्ड नेभर’ भनेका छन् । ‘सरकार गठनमा छलफल, सहकार्य हुनसक्ला तर त्यहाँ हामी आफ्नै माग राख्नेछौं’ प्रकाशले भने ‘हाम्रो एजेण्डा पुरा गराउन वार्ता गर्नेछौं ।’ यसैबीच, वामपन्थीहरुबीच समान एजेण्डा हुनुपर्नेमा उनको समान धारणा छ ।

 

कमेन्टहरु
Loading...