महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा शोभायात्रा

काठमाडौं । यस वर्षको महाशिवरात्रिको प्रचारप्रसारका लागि पशुपति क्षेत्रमा सांस्कृतिक झाँकीसहित शोभायात्रा निकालिएको छ । पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा नेपाल वेद विद्याश्रमलगायत १ सय वटा धार्मिक संघसंस्थाको सहभागिता रहेको शोभायात्राको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री भानुभक्त ढकालले गरेका थिए । कार्यक्रममा मन्त्रालयका सचिव यादव कोइराला, कोषका सदस्यसचिव डा.प्रदीप ढकाल, परिषद् सञ्चालक सदस्यद्वय देवीप्रसाद बराल र आशा पाण्डे, कार्यकारी निर्देशक डा.घनश्याम खतिवडालगायत कर्मचारीसहित ५ हजारभन्दा बढीको उपस्थिति रहेको थियो ।

मन्दिर परिसरबाट आरम्भ भएको शोभायात्रा पिंगलास्थान, गौशाला जयवागेश्वरी, सिफल, लामपोखरी हुँदै चावहिल गणेशस्थानसम्म पुगेको थियो । पुनः त्यही मार्गबाट फर्किई जयवागेश्वरीबाट मूल मन्दिरअघि पुगेर यात्रा समापन गरिएको थियो । यात्रामा सहभागीले ‘ॐ नम : शिवाय’, ‘जय शम्भो’, ‘हर हर महादेव’ जस्ता मन्त्रोच्चारण गरेका थिए । समापनका अवसरमा कार्यकारी निर्देशक खतिवडाले आज बेलुकी पशुपतिनाथ मन्दिरमा दीप प्रज्वलन र बुधबार बिहान महाशिवरात्रिको तयारीस्वरुप सरसफाइ गरिने जानकारी दिएका छन् । महाशिवरात्रिका अवसरमा पशुपति दर्शन गर्न आउने भक्तजनलाई मास्कसहित सुरक्षा मापदण्ड पूरा गर्न उनले आह्वान गरे ।

पशुपतिनाथमा १ वर्षपछि विशेष पूजा सुरु

फाल्गुण कृष्ण त्रयोदशीका दिन पर्ने महाशिवरात्रि यस वर्ष फागुन २७ गते बिहीबार परेको छ । यसैबीच कोरोना महामारीका कारण गत वर्ष चैतदेखि रोकिएको विशेष पूजा पनि महाशिवरात्रिका अवसरमा आजैदेखि सुरु भएको छ ।

स्वास्थ्य सुरक्षाका विधि अपनाएर १ हजार १ सयदेखि २७ हजारसम्मका विशेष पूजा आजदेखि सुरु गरिएको कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिएका छन् । महाशिवरात्रिका दिन भने पशुपतिनाथ मन्दिरमा ५ हजार ५ सय र ११ हजार गरी २ किसिमका विशेष पूजामात्र गरिने पनि उनले बताएका छन् । ५ हजार ५ सय पूजा गर्ने २ जना कर्ता र ११ हजार रसिद काटेर विशेष पूजा गर्ने ४ जना कर्तालाई पशुपतिनाथ मन्दिरमा दर्शनको व्यवस्था मिलाइएको छ । रासस

कमेन्टहरु
Loading...