कास्की । १११ औं अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा रुपा गाउँपालिका आयोजनामा इन्सेक गण्डकी प्रदेश कार्यलय र सगोल कास्कीको सहकार्यमा महिला अधिकार तथा क्षमता अभिवृद्धी कार्यक्रम फागुन २४ गते सम्पन्न भएको छ ।
रुपा गाउँपालिका – ६ भिरचोकमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ता तथा सहभागीहरुले महिलाले आफ् अधिकारलाई उपयोग गर्न अगाडी बढ्नुपर्ने धारण राखेका थिए ।
अखिल नेपाल महिला संघ नेतृ टुका हमालले नेपालको राजनितिक आन्दोलनको परिर्वतनमा महिलाहरुको भुमिका महत्वपूर्ण रहेको बताइन् ।
उनले अहिले हरेक तहमा महिलाको सहभागीता बढेको बताउँदै सहभागी हुने मात्र नभइ नेतृत्व क्षमतालाई बिकास गर्दै अगाडी बढ्नुपर्ने बताइन् ।
रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले गाउँपालिका विनियोजित महिला लक्षित बजेट र कार्यक्रमहरुको उपयोग गर्न आग्रह गरे
उनले महिलाहरु अगाडी नबढ्ने हो भने समाजको सकरात्मक बिकासको गति सुस्त हुने बताउँदै आ-आफ्नो नेतृत्व क्षमता विकासमा लाग्न आग्रह गरे ।
महिलाहरुको नेतृत्व क्षमता विकासका लागि गाउँपालिकाले प्रत्येक वडामा कार्यक्रम संचालन गर्ने उनको भनाइ थियो ।
गाउँपालिका महिला अधिकारका सवालमा संवेदनशिल रहेको उनले बताए ।
गाउँपालिका उपाध्यक्ष लाल सुब्बा गुरुङले निति र कार्यक्रमबाट विनियोजन भएका महिला लक्षित कार्यक्रम प्रति महिलाहरु कै चासो आवश्यक रहने बताउँदै महिलाहरुको सिप तथा क्षमता बिकासका लागि गाउँपालिका सदैव तयार रहेको भनाइ राखिन् ।
उनले समुह वा संस्थाका पदमा बस्ने मात्रै नभइ नेतृत्व क्षमतालाई बिकास गर्दै समाज परिर्वतनको यात्रामा महिलाहरु लाग्नुपर्ने बताइन् ।
अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य कृष्णा श्रेष्ठ आफ्नो क्षमतालाई बाहिर प्रस्फुटन गर्न डराउन नहुने बताइन् ।
सगोल कास्की अधिकृत बिमला केसीले घरबाटै छोराछोरीको बीचमा हुने विभेद हटाउनुपर्ने बताइन् ।
उनले जहाँ विभेद हुन्छ त्यहाँबाट हिंसाको सुरुवात हुने बताउँदै विभेद अन्त्यका लागि पहल र प्रयास गरिनुपर्ने भनाइ राखिन् ।
कार्यक्रम इन्सेक कार्यक्रम अधिकृत सवनम शर्माले महिला अधिकार सम्बन्धी कार्यपत्र प्रस्ततु गर्दै महिला सहभागीतामा सकरात्मक परिर्वतन आएतापनि अझै पर्याप्त नभएको बताइन् ।
उनले अधिकार प्राप्त गर्ने मात्र नभइ त्यो सही उपयोग गर्न सकेमा मात्रै परिर्वतनको महसुश गर्न सकिने बताइन् ।
कार्यक्रममा रुपा गाउँपालिका सातवटै वडाका आमा समुह , जनप्रतिनिधि , संघसंस्थाबाट प्रतिनिधित्व गर्ने महिलाहरुको सहभागीता रहेको थियो ।