लमजुङ संवादाता ।
लमजुङमा आयोजना गरिएको जिल्लास्तरीय खुल्ला लोकदोहोरी गीत प्रतियोगिताको उपाधी आयोजक लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लमजुङको टिमले जित हासिल गरेको छ ।
प्रतियोगिताको फाइनलमा १ अंकको फरकले सुन्दरबजार नगरपालिकाको समूहलाई हराउँदै आयोजक समूह पहिलो हुन सफल भएको हो ।
पहिलो हुने टिमले नगद रु.१० हजार र प्रमाणपत्रका साथ प्रदेशस्तरमा हुने प्रतियोगितामा भाग लिने अवसर पाएको आयोजक प्रतिष्ठानका जिल्ला अध्यक्ष अनुज अधिकारीले बताए ।
उनका अनुसार दोस्रो हुने टिमलाई नगद ५ हजार, तेस्रो हुने दुई समूह बेसीशहर नगरपालिका र क्व्होँलासोथर गाउँपालिकालाई २ हजार पाँच सयका दरले नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यस्तै, उत्कृष्ट गायकमा पार्वती आले र सुरज दुतराज तथा उत्कृष्ट स्वरमा पूजा परियार पुरस्कृत भएका छन् । त्यस्तै नवोदित प्रतिभा पुरस्कार चिति संस्कृति कला केन्द्रका विशाल विकले पाएका छन् ।
प्रतियोगीतामा १२ समूहले भाग लिएका थिए ।