पोखरा । संसारभरिका विभिन्न क्षेत्रमा महिलाले हासिल गरेका सामाजिक उपलब्धिलाई स्मरण गर्दै महिला अधिकार तथा लैङ्गिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा मनाइन्छ । नेपालपनि यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ हामी यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेको छ ।
१११ औं महिला दिवस मनायरहँद कति मुद्दामा महिलाले सफलता हासिल गरे । तर महिला अधिकारका लडाईँ चलिरहेको छ । समय, परिवेश र विकाससँगै महिला अधिकारको विभिन्न अर्थ भेटिए । पुस्ताको अन्तरल र परिवर्तनसँगै महिला दिवसलाई अहिलेको नयाँ पुस्ताले कसरी सम्झीन्छन् त ? महिला दिवसको अवसरमा गन्थनसँगको कुराकानी उनीहरुकै शब्दमा ।
स्मृती बराल , सामाजिक अभियन्ता
एकतर्फ महिला पुरुष समान भन्ने विचारलाई टेकेर अन्तर्राष्ट्रिय जगत आगाडि बढिरहेको छ । तर हाम्रो देशमा अझैपनि परम्पराको बहानामा त कतै पितृसत्तामक सोचका कारण सामाजिक, राजनैतिक गरी अधिकांश क्षेत्रमा महिलाको खुट्टा सकेसम्म बाँध्न खोजिन्छ ।
वर्षभरी नारीहरुलाई आगाडी बढाउने कुरामा अवरोध सृजना गर्ने हाम्रो समाज एकदिन केही कार्यक्रमहरु गरेर नारी दिवस मनाउँछ जुन पछिल्लो समय केवल देखावटी मात्र साबित हुँदै आएको छ ।
तर पनि अझै आशा मरेको छैन । आशा छ अबको युवा शक्तिर नयाँ पुस्ताले नारी दिवसको महत्व बुझने छ । वषौंदेखिको संघर्षले पक्कैपनि अर्थपूर्ण नतिजा दिने छ । हामी नारीहरु हरेक क्षेत्रको नेतृत्वमा अर्थपूर्ण ढंगले सहभागी हुने छौँ । र गर्वका साथ भव्य तरिकाले नारी दिवस मनाउने छौँ ।
अनिकर्म, अधिकारवादी
नारी दिवस केवल दिन वा दिवस होइन । कालान्तरमा पितृसत्तामक सोच विरुद्द महिलाको समाजसँगको लडाइँको सम्झना हो । अधिकारका लागि महिलाले दिएको योगदान र लडाईँको ताजा स्मरण हो । तरपनि १११ औं वर्षको लामो यात्रा तय गर्दासम्म हाम्रो लडाईँ निरन्तर छ ।
महिलाको संघर्ष लामो छ । अझैपनि हाम्रो लडाईँ अधिकारको लागि निरन्तर जारी छ । अबको युवा पुस्ताले यो दिनको मर्म बुझेर महिलावाद र नारीको सम्मान गर्न जरुरी छ । महिलावाद भन्नाले कसको अधिकार ठुलो भन्ने होइन । यो अधिकारको लडाईँ बराबरीको हो । नयाँ पुस्ताले यस दिनलाई मनाउन पर्छ । महिलाले पनि यसदिन बाहेक बाँकी हरेकदिन समेत उनकै हो भनेर बाच्नुपर्छ ।
आस्था नेपाली , राजनितिकर्मी
नेपालमा परिवर्तनका थुप्रै आन्दोलनहरु भए जुन आन्दोलनमा महिलाहरुको पनि सहभागीता रहेको थियो । त्यो सहभागीताले महिलाहरूलाई सामाजिक कार्यमा चासो राखेर नेतृत्व गर्न सक्ने स्तर सम्म पु¥यायो । तर साच्चै महिला मुक्तिको आन्दोलन अझ भनौं समानुपातिक सहभागीता, सम्मान र सुरक्षाको ग्यारेन्टी सफल भयो त ? भएन ।
महिला मुक्तिको आन्दोलन कार्यक्रममा मात्र सिमित भयो । समानताका लागी भने भएन । आज पनि पितृसत्ताको विकल्प मातृसत्ता हो र मातृसत्तामा सबै कुराको हल हुन्छ भन्ने हिसाबले जसरी बहस भइरहेको छ त्यो बहसलाई हाम्रो पुस्ताले स्विकार्न सक्दैन । महिलालाई संघर्षमा अगाडी र अवसरमा पछाडि पार्ने प्रवृत्ति अहिले पनि छ ।
नारी दिवसलाई क्लारा जेटकिन र रोजा लक्जमवर्गले स्थापना गरीदिए । उनीहरुको संघर्षलाई कसरी न्याय गर्ने र यो दिनलाई हाम्रो पुस्ताले कसरी अघि बढाउने यो महत्वपूर्ण विषय हो । एकदिन नारा जुलुस र भाषण गरेर मात्र होइन । पुरानो उपलब्धिहरुको सम्मान गर्दै महिलाको अर्थपूर्ण सहभागीता, समावेशीता, सम्मान, न्याय स्वतन्त्रता र सुरक्षालाई केन्द्रमा राखेर एउटा बेजोड बहसको थालनी गर्नुपर्ने आजको आवश्यकता हो र १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले हाम्रो पुस्तालाई यहीँ प्रेरणा दिन सकोस् ।