महिला मुक्ति नै मानव मुक्तिको पूर्वशर्त: दाहाल

काठमाडौँ । सर्वोच्चबाट पुनर्स्थापित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समग्र महिला मुक्ति नै मानव मुक्तिको पूर्वशर्त भएको बताएका छन् । सोमबार १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन् ।

आज विश्वभरका महिला दिदीबहिनीहरूको मात्र नभई मानव समुदायकै लागि एउटा ऐतिहासिक दिन भएको दाहालको शुभकामना सन्देशमा उल्लेख छ । आज महिलाहरूको हक र अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा साँस्कृतिक अधिकार स्थापित गर्न आवाज बुलन्द गरिएको संघर्षको दिन भएको बताइएको छ ।

‘महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायत नेपालका सामाजिक र राजनीतिक क्रान्तिहरूमा नेपाली महिलाहरूले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ,’ शुभकामना सन्देशमा लेखिएको छ ,‘महिलाहरूको त्यो साहस, त्याग र बलिदानीले आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका हौं ।’

कमेन्टहरु
Loading...