पुनः स्थापित प्रतिनिधिसभाको बैठक आज, सबै राजनीतिक दल एकअर्काको रणनीति नियाल्दै

काठमाडौं । पुनः स्थापित प्रतिनिधिसभाको बैठक आज अपरान्ह ४ बजे बस्दै छ ।

बैठक बस्ने भएसंगै यतिबेला सबैको ध्यान के होला भन्नेमा नै रहेको छ । सबैको आज प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन्छन् कि दिंदैनन् भन्नेमा ध्यान छ । त्यस्तै प्रधानमन्त्री ओलीविरुद्ध नेकपा प्रचण्ड–नेपाल सहित अन्य दलले संयुक्त रुपमा अविश्वासको प्रस्ताव पेश गर्छन् या गर्दैनन् भन्नेमा नै सबैले चासोका साथ हेरिरहेका छन् ।

यता यो बैठकमा सबैले आ–आफ्नो रणनीति तय गरेका छन् । कुन पक्षले के गर्छन्, कस्तो कदम उठाउँछन् भन्ने चासो सहित सबै दलले एकअर्कालाई नियालिरहेका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली तथा प्रचण्ड–नेपाल दुवै पक्ष, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टी नेपाल लगायतका दलले एकअर्काको रणनीतिलाई नजिकबाट नियालेर आ–आफ्नो कदम चाल्ने पक्षमा रहेका छन् । जे जस्तो अवस्था आजको प्रतिनिधिसभाको बैठकमा आए पनि जे निर्णय लिन समेत उनीहरु पछि नहट्ने पक्षमा छन् ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षले संसद बैठकमा प्रधानमन्त्री ओलीले राजीनामा नदिएको अवस्थामा अविश्वासको प्रस्ताव पेश गर्ने तयारी गरिएको बुझिएको छ । उक्त समुहको केही नेताले ओलीले सहज ढंगले राजीनामा दिएको खण्डमा समस्या उत्पन्न नहुने बताएका छन् । यता नेकपा ओली पक्षले भने प्रधानमन्त्रीले राजीनामा नदिने तर अविश्वासको प्रस्ताव पेश भए डटेर सामना गर्ने बताउँछन् ।

नेपाल प्रचण्ड–नेपाल पक्षका नेता देवेन्द्र पौडेलका अनुसार अविश्वासको प्रस्तावका बारेमा कुराकानी भइरहेको भए पनि टुंगो लाग्न बाँकी नै छ । प्रधानमन्त्रीको राजीनामा नआए संयुक्त रुपमा अविश्वासको प्रस्ताव पेश गर्ने विषयमा कुराकानी तथा छलफल जारी रहेको उनले बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा अर्को दल जनता समाजवादी पार्टी नेपाल नेपाल कम्युनिस्ट पार्टीको दुवै समुहले के–कस्तो निर्णय गर्छ भन्ने विषयमा पर्ख र हेरको अवस्थामा छ । विभाजित भइसकेको भएपनि औपचारिक घोषणा हुन बाँकी नै रहेको नेकपा पूर्ण रुपमा विभाजित नभएसम्म उनीहरुले कुनै कदम नचाल्ने बताउँदै आएका छन् । दुवै दलका यो विषयमा अझै छलफलमा रहेका छन् ।

नेकपा ओली समुह अविश्वासको प्रस्ताव आउँछ कि आउँदैन भन्ने विषयमा सबै दलहरुलाई नजिकबाट नियालिरहेका छन् । उनीहरुले अविश्वासको प्रस्ताव नआएको खण्डमा केही समय पर्खिएर नियाल्ने रणनीति बनाएका छन् ।

कमेन्टहरु
Loading...