प्रतिष्ठानमा सबै विचारको सहभागिता छ : कूलपति ढकाल

 

जनवादी गायककारुपमा परिचित पदमराज ढकाल हालै स्थापना भएको पोखरा प्रज्ञा प्रतिष्ठानको कूलपतिको जिम्मेवारीमा छन् । देशप्रेमले ओतप्रोत र चेतनामूलक गीतसँगै कौरा, सोरठी, झ्याउरे, धिमाल, देउसी, सिङ्गारुजस्ता गीतमार्फत नेपाली लोक संस्कृति संरक्षण अभियानमा समेत उनी सक्रिय छन् । उनै ढकालसँग ५ प्रश्नः

अबको योजना केके छन् ?
हामी विभिन्न विधामा अनुसन्धानमूलक काम गर्छौ । विधा भन्नाले साहित्य, संगीत, कला संस्कृतिसँग सम्बन्धित अनुसन्धानमूलक काम गर्छौ । पोखराको साहित्यिक, सांस्कृतिक संघसंस्थाको समन्वयमा काम गर्ने, पोखरालाई कर्मथलो बनाएका स्रष्टाहरुको योगदानको चर्चा र जन्मजयन्ती मनाउने ।

अग्रज स्रष्टाहरुलाई सम्मान गर्ने अनि अन्य स्रष्टाको प्रतिभा प्रस्फुटनका लागि विभिन्न महोत्सव, उत्सव आयोजना गर्ने लगायतका योजना छन् ।

सिर्जना ग्राम र साँस्कृतिक ग्राम स्थापनाको लक्ष्य ?
सिर्जना ग्राम भनेको स्रष्टाहरु त्यो स्थानमा गएर महिनौं दिन बसेर सिर्जना गर्ने हो । कला, साहित्यहरु एक स्थानमा बसेर सिर्जना गर्ने हो । साँस्कृतिक ग्राममा यस क्षेत्रको संस्कृति झल्काउने प्रतीकात्मक निर्माण गर्ने योजना हो । योजना पुरा गर्न करोडौं रुपैयाँको बजेट आवश्यक पर्छ ।

हामीलाई छुट्याएको बजेटले मात्र पुग्दैन । महानगर, प्रदेश र संघ सरकारसँग सहयोगकालागि अनुरोध र पहल गर्नेछु । यही योजना पुरा गर्न समिति गठन गरी अघि बढ्नुपर्छ भन्ने लागेको छ । स्रष्टालाई सिर्जनामा ग्रामले सहयोग गर्नेछ ।

पोखरेली साहित्यमा पुस्ताबीचको खाडललाई कसरी कम गर्न सकिएला ?
नयाँ पुस्ताको लागि हौसला र प्रोत्साहनका निमित्त विद्यालयस्तरका प्रतियोगिता हुन सक्ने भए । विद्यालय बाहेक अन्यका लागि साहित्य महोत्सव गरेर उनीहरुलाई आर्कषण गर्ने र उहाँहरुलाई सिर्जनमा लगाउने काम गर्न सकिन्छ ।

प्रतिष्ठानमा एउटै विचारधारा भएका सदस्यलाई मात्र नियुक्त गरिएको आरोप छ ?

त्यस्तो छैन । हेर्दा र बाहिरबाट जे भनिएको छ त्यो होइन । प्रतिष्ठानमा एउटै विचारधाराको मात्र प्रतिनिधित्व छैन । अझ भन्दा एउटै पार्टीलाई भोट दिएका मात्र छैनौ । यहाँ सबैको सहभागिता छ ।

साहित्यको श्रीवृद्धिका नाममा प्रतिष्ठान गठन गर्ने, राजनीतिक दलको नियुक्ति खाने र सरकारी बजेट सक्ने भन्ने आरोप लागेको छ, तपाइको धारणा के छ ?
महानगर भनेको राजनीतिक संस्था होइन । पोखराको सबै जनताको संस्था हो नि । त्यहाँ राजनीतिक पार्टीबाट चुनिएर गएका मान्छे छन्, तर उनीहरु जनताका प्रतिनिधि हुन् । महानगर भनेको जनताको संस्था भएकाले यसलाई राजनीतिक थलोकोरुपमा लिन भएन ।

यहाँ हामी काम गर्न आएका हौं, दिएको जिम्मेवारी पुरा गर्न आएका हौं । बजेट सक्न होइन ।

प्रस्तुतीः रिना थापा

 

कमेन्टहरु
Loading...