नेपालमा हिंसात्मक द्वन्द्व छैन, मुलुक शान्तिको नयाँ युगमा प्रवेश गरेको छः प्रधानमन्त्री ओली

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनता, समाज तथा राष्ट्रले शान्ति खोजेको बताएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपासंग सहमतिपत्रमा हस्ताक्षर गरेपश्चात् कार्यक्रममा बोल्दै उनले भने, ‘राष्ट्रिय अखण्डताको रक्षा, राष्ट्रिय हितको रक्षा, लोकतन्त्रको रक्षा, सामाजिक न्याय तथा समानता नेपाली जनताले चाहेका अत्यन्तै महत्वपूर्ण कुरा हो ।’

चन्दले नेपालीको चाहना स्वरुप शान्तिपूर्ण वातावरण सिर्जना गरेकोमा ओलीले बधाई तथा धन्यवाद व्यक्त गरेका थिए । नेपाल स्वतन्त्र अस्तित्वसहितको नेपाल हुनुपर्नेमा उनको जोड थियो । शान्तिपूर्ण बाटोमा आएर विप्लवले शाहसिक कार्य गरेको उनले बताए । ‘यो सेफ ल्याण्डिङ हो । फोर्स ल्याण्डिङ, क्राय ल्याण्डिङ होइन ।’ उनले भने । नेपालमा अब हिंसात्मक द्वन्द्व नभएको उनको दावी थियो । नेपाल अबबाट हिंसात्मक बाटो र हिंसात्मक कार्य कसैले पनि अवलम्बन नगरेको उनले बताएका छन् । ‘अब नेपालमा हिंसात्मक द्वन्द्व छैन, शान्तिपूर्ण देश बनिसकेको छ ।’ उनले भने । नेपाल शान्तिको मापदण्डमा सबैभन्दा अगाडि बढिरहेको तथ्यांक आएको उनले बताए ।

आजको सफलता रातारात नभएर वर्षौंदेखि चलिरहेको उनले दावी गरेका छन् । ‘हामीले वर्षौंदेखि वार्ता गरिरहेका थियौं ।’ उनले भने, ‘फरक यत्ति हो, हामीले वार्तालाई वार्ता नै बनायौं, नगाडा बजाएर गरेनौं ।’कुनै समस्या आएको खण्डमा वार्ताबाट नै समस्याको समाधान गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । नेकपाको कार्यकर्ताहरु जेलबाट छुट्ने शिलशिला सुरु भइसकेको र अरु पनि छुट्ने उनले बताएका छन् । उनीहरुमाथि भएको मुद्दा पनि फिर्ता लिने प्रक्रिया सुरु भइसकेको प्रधानमन्त्री ओलीले बताए ।

विप्लवसंग केही समस्या भएको खण्डमा आफूले कुस्ती नखेल्ने बरु शसक्त ढंगले वार्ताबाट नै समाधान गर्ने उनले बताएका छन् । ‘समस्या उत्पन्न भए वार्ताबाट नै समस्याको समाधान गर्छौं, हामी कुस्ती खेल्दैनौं ।’ उनले भने ।

कार्यक्रममा उनले प्रचण्ड–नेपालको आलोचना गर्न छोडेनन् । उनले आफ्नो पार्टीको २ तिहाईको बहुमत प्राप्त प्रधानमन्त्रीलाई निकाल्न खोज्ने तर अरुलाई प्रधानमन्त्री बनिदिनुस् न भन्दै हिंडिरहेको उनले बताएका छन् । विभिन्न बैठक डाकेर अरुलाई प्रधानमन्त्री बनिदिनुस्, म बन्न मिल्दैन भन्दै हिंड्नु लाचारीपन भएको उनको दावी थियो । केहीले ओलीले प्रधानमन्त्री पद अरुलाई दिन खोजिरहेको छ भन्ने गलत हल्ला फिजाइएको उनको आरोप थियो । ‘हामीले प्रधानमन्त्रीको पद अरु कसैलाई प्रस्ताव गरेका पनि छैनौं र गर्दैनौं पनि ।’ उनले भने ।

कमेन्टहरु
Loading...