‘उद्यमशीलताबाट महिला मूल प्रवाहमा आउनुपर्छ’

गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले उद्यमशिलताको विकासमार्फत महिलालाई मूल प्रवाहमा ल्याउनुपर्ने बताएकी छन् ।

पोखरा महिला चेम्बर अफ कमर्स कास्कीको दोस्रो साधारणसभाको उद्घाटन सत्रमा उनले आर्थिक समृद्धिका लागि महिला उद्यमशिल बनेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

उनले प्रतिस्पर्र्धाको युगमा परनिर्भरता रहँदा महिलाको समग्र विकासमा बाधा पुगेकोे औँल्याउँदै आफूलाई सबल र सक्षम बनाएर आत्मविश्वास जगाउन आर्थिक विकासमा जोड दिनुपर्नेमा जोड दिइन् ।

उनले स्थानीय तहमा सरकारले महिलालाई उद्यमशिल बनाउन सस्तो ब्याजदरमा ऋण प्रदान गरेको स्मरण गराउँदै जागर चलाएर अघि बढ्न सके महिलालाई अवसर प्रशस्त रहेको औँल्याइन् ।

पोखरा महानगरपालिका कार्यपालिका सदस्य राधिका योगी शाहीले महिला पछिल्लो समय जागरुक भएर अघि बढे पनि आर्थिक रुपमा अझै सवल र सक्षम हुन नसकेको बताइन् ।

उनले महानगरले उपप्रमुखसँग महिला कार्यक्रम सञ्चालन गरेको र न्यून ब्याजमा महिलालाई लगानी गरेकाले अहिले उद्यमशिलतामा अघि बढ्ने महिलाका लागि अवसर रहेको धारणा राखिन् ।

पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले देशकै अर्थतन्त्रलाई चलायमान बनाउन कमर्सले सशक्त भूमिका खेलेको बताए । उनले महिलालाई उद्यमशिलमा जोड दिएर व्यावसायिक छविका साथ स्थापित गराउन महिला समितिमार्फत विभिन्न कार्यक्रममा जोड दिँदै आएको जानकारी दिए ।

महिला चेम्बरका अध्यक्ष गीता तिवारीले विभिन्न क्षमता तथा दक्षता हुँदा हुँदै पनि आर्थिक रुपमा सवल हुन नसकेका महिला सधैँ पछाडि पर्ने गरेको स्मरण गर्दै महिलाको आर्थिक विकासका कार्यक्रममा जोड दिएको बताइन् ।

सो अवसरमा उद्यमशिलता मार्फत करिब २५० लाई रोजगार दिन सफल महिला उद्यमी दीपा बाँस्तोला र हालै पोखरा प्रज्ञा प्रतिष्ठानका सदस्यमा नियुक्त हुनुभएका कलाकार मिलन शेरचनलाई सम्मान गरिएको थियो ।

संस्थाका सल्लाहकार महिला उद्यमी विष्णु गुरुङ, सदस्य कमला सुनारलगायतले उद्यमशिलतामा महिलाको सहभागिताका विषयमा आफ्ना भनाइ राखेका थिए ।

महिला चेम्बरका महासचिव साङ्ग्रिला मरासिनीले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

कमेन्टहरु
Loading...