बगर भाई खलक एट–ए–साइड भेट्रान फुटबलको तयारी पुरा, २८ टिमको सहभागिता

पोखरा । पोखरामा यही फागुन २४ गतेबाट सञ्चालन हुने ‘चौथो स्वर्गिय रञ्जित गुरुङ स्मृति तथा १० औं बगर भाई खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’ को सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

नेपालकै जेठो भेट्रान फुटबल प्रतियोगितामा २८ टिमको सहभागिता रहने जनाउँदै प्रतियोगिताको आयोजक पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकले पत्रकार सम्मेलनमार्फत् सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । फागुन २९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौं, विरगन्ज, हेटौडा, चितवन, वुटवल, वालिङ लगायत स्थानिय टिमले प्रतिष्पर्धा गर्ने संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिएका छन् । ‘स्वास्थ्यका लागि १ घण्टा व्यायाम, नागरिकका लागि नौलो आयाम’ भन्ने मूल नारालाई आत्मसात गर्दै संस्थाले विगत २०६८ साल देखि ४० वर्ष देखि ६५ वर्षको उमेर समुहका अग्रज खेलाडी समेटेर भेट्रान्स फुटबल प्रतियोगीतामा आयोजना गर्दै आइरहेको उक्त संस्थाले यस वर्ष पोखराका अग्रज फुटबल खेलाडी खेम गुरुङलाई सम्मान गर्ने अध्यक्ष गुरुङले जानकारी दिएका छन् ।

पूर्व राष्ट्रिय फुटबल खेलाडी, पूर्व प्रशिक्षक, भुपु खेलाडी मञ्च नेपालका महासचिव एवं खेलकर्मी गुरुङलाई ताम्रपत्र एवं दोसल्ला सहित सम्मान गरिने उनले बताए । प्रतियोगितामा उपाधि विजेताले रनिङ शिल्ड सहित नगद १ लाख ११ हजार १ सय ११ लाख द्वितीयले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै उत्कृष्ट गोल किप्पर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफी सहित जनही नगद ५ हजार प्रत्येक खेलाडीलाई प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद १० हजार प्रदान गरिने छ । त्यसै गरी अनुशासित टिम, प्रतियोगितामा सहभागी सबैभन्दा जेष्ठ खेलाडीलाई सम्मान (१ पटक मात्र) एवं हरेक खेलका म्यान अफ दि म्याचलाई विशेष पुरस्कार प्रदान गरिने छ । द्वितिय पुरस्कार विजेताले प्राप्त गर्ने नगद . ५५ हजार ५ सय ५५ यस वर्ष सहारा युकेले प्रायोजन गरेको अध्यक्ष गुरुङले बताएका छन् ।

पोखराको ऐतिहासिक पुरानो टुंडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताका लागि १५ लाख खर्च हुने तथा १६ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको संस्थाका महासचिव याम गुरुङले जानकारी बताए ।

उक्त प्रतियोगिताका लागि बगर भाइ खलक युके सह–प्रायोजकको भूमिकामा रहेको र बगर भाइ खलक युकेले आकर्षक र स्तरीय मेडल र ट्रफी सौजन्य स्वरुप प्राप्त भएको महासचिव गुरुङले बताएका छन् ।

साथै प्रतियोगिता सफल बनाउन गण्डकी प्रदेश सरकारले समेत सह प्रायोजन गर्ने प्रतियोगिताका लागि पोखरा महानगरपालिका, भेट्रान ग्रुप हङकङ, तमु धिं युके, अखिल नेपाल फुटबल संघ, बगर भाइखलक जापान, पोखरा महानगरपालिका वडा नं. १ को कार्यालयले सहयोग गरेको छ भने संस्थाका आजिवन सदस्यहरुले व्यक्तिगतरुपमा सहयोग गरेको महासचिव गुरुङले बताए ।

कमेन्टहरु
Loading...