काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई काठमाडौं छाडेर कतै नजान निर्देशन दिएको छ ।
फागुन २३ गते संसद बैठक आह्वान गरिएको र सोही विषयमा जुनसुकै समयमा उपलब्ध हुनुपर्ने अवस्था आउन सक्ने भन्दै कांग्रेसले सांसदलाई काठमाडौं छाडेर कतै नजान निर्देशन दिएको हो । पार्टीको संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले सांसदले अत्यावश्यक काम परेर काठमाडौं बाहिर जानु परेको अवस्थामा परामर्श गर्नुपर्ने बताएका छन् ।
आज पूर्व सांसद एकनाथ रानाभाटको श्रद्धाञ्जलीसभामा सहभागी हुनका लागि पार्टी सभापति शेरबहादुर देउवा सहित वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री डा.शशांक कोइराला चितवन पुगेका छन् ।
कांग्रेससंग नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन संयुक्त तरिकाले अगाडि बढ्नुपर्ने प्रस्ताव राखेका छन् । यो विषयमा पार्टीका शीर्ष नेताहरुबीच छिट्टै छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव संयुक्त रुपमा ल्याउन परेको खण्डमा सांसदहरुको आवश्यकता पर्ने भन्दै उनीहरुलाई काठमाडौं बाहिर नजान उर्दी जारी गरिएको हो ।