दिपक के श्रेष्ठ
आफ्ना सांसदलाई सकेसम्म राजधानी नछाड्न र नागरिकता वा परिचयपत्र साथैमा राख्न निर्देशन दिएको नेकपा (प्रचण्ड–नेपाल) समूहले पेरिसडाँडामा आज दिउँसो १ बजे पार्टीको केन्द्रीय बैठक डाकेको छ ।
बैठक मुलतः २३ गते हुने संसदको बैठकमा केन्द्रित हुने एक नेताले जनाएका छन् । राजनीतिको आगामी मार्ग सोही दिन तय हुने निश्चितप्रायः भएकाले उक्त दिन महत्वपूर्ण हुने उनले जनाएका छन् ।
‘नाम खुलाई नहालौं’ उनले भने ‘खासमा बैठक सोही दिनको रणनीति बनाउने योजनामा केन्द्रित हुनेछ ।’ सर्वाेच्च अदालतले पार्टी र सरकारको विषय संसदमै फर्काइदिएको हुनाले नेकपाभित्र नै छलफल र रणनीति बनाउनु पर्ने अवस्थामा रहेको उनले टिप्पणी गरे ।
अदालतको फैसलापछि दुबै समूहमा लचकता देखिएका हुनाले ओली खेमाले आत्मालोचना गरे पार्टीलाई एक ढिक्का बनाउन पनि सकिने सम्भावना रहेको उनको आंकलन छ । यसअघि प्रचण्ड–नेपाल समूहले नैतिकताकाआधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिँदै आएका थिए । पार्टी कार्यालय पेरिसडाँडामा आज दिउँसो नेकपाको मिलनविन्दू खोज्ने प्रयास हुनसक्ने उनको आंकलन छ ।
यसबीच, पार्टीभित्र सांसदलाई विभिन्न जुक्ति लगाई आफुतिर तान्ने प्रयाससमेत भइरहेको छ । संसदमा नेकपाका १ सय ७४ सदस्यमध्ये हाल १ सय ७२ सँग अविश्वासको पक्ष–विपक्षमा मत जाहेर गर्ने अधिकार छ । आजका दिनसम्म दुबै पक्षले आफ्नो गुटमा ९० सदस्य रहेको दाबी गर्दै आएका छन् ।
हालसम्म नेकपाका वामदेव गौतम, लालबाबु पण्डित र तुलसी थापाले कुनैपनि समूहमा आफुलाई खुलाएका छैनन् । जसमध्ये गौतम राष्ट्रियसभा सदस्य हुन् ।
‘सत्ता र संसदको चाबी आफुसँगै राख्ने कि अर्काे दललाई सुम्पेर कम्युनिष्ट पार्टी फुटाउने भन्ने विषयमा बैठक केन्द्रित हुन्छ’ उनले जनाए ।