पोखरा महानगरद्वारा १ अर्ब राजश्व संकलन, खर्च ३२.१ प्रतिशत मात्र

पोखरा । पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षको साढे ७ महिनासम्ममा १ अर्ब ५ करोड राजश्व संकलन गरेको छ ।

महानगरले यस आर्थिक वर्षमा २ अर्ब १८ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । तर गत वर्षको तुलनामा महानगर यस वर्ष राजश्व संकलन केही प्रतिशतले राम्रो भएको जनाएको छ । यस वर्ष राजश्व संकलनको लक्ष्य पुरा गर्न महानगरले सुरुआत देखिनै पत्राचार गरिरहेको छ । महागरका वरिष्ठ कर अधिकृत गणेश पाण्डेका अनुसार अहिलेको समयमा आय ठेक्काको राजश्व समेत समयमा आइरहेको छ ।

यद्यपि लक्ष्य अनुसार महानगरले आधा प्रतिशतसम्म राजश्व संकलन समेत गर्न सकेको छैन । पाण्डेका अनुसार कोरोनाका कारण व्यवसायमा परेको असरले राजश्व संकलनमा समस्या भएको छ । महानगरले लक्ष्य पूरा गर्न अबको साढे ५ महिनामा १ अर्ब १३ करोड राजश्व संकलन गर्नुपर्ने देखिन्छ । आर्थिक वर्षको अन्तिम समयमा राजश्व संकलन अन्य समय भन्दा बढी हुने गर्छ ।

त्यस्तै महानगरले गत आर्थिक वर्षमा आन्तिरक आम्दानी तर्फ २ अर्ब ९१ करोड ६३ लाख ७८ हजार अनुमान गरिएकोमा १ अर्ब २६ करोड राजश्व संकलन गरेको थियो । जसमा १ करोड ७३ लाख ११ हजार ९ सय ७८ बेरुजु रकमको हिसाब आउन बाँकी नै छ ।

३२.१ प्रतिशत मात्र बजेट खर्च

पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजारको बजेट सार्वजनिक गरेको थियो । आधा वर्ष पूरा गरिसक्दा महानगरले चालु आर्थिक वर्षमा ३२.१ प्रतिशत मात्र बजेट खर्च गर्न सफल भएको छ । पोखरा महानगरपालिका लेखा अधिकृतका अनुसार बजेट खर्चमा सबैभन्दा बढी ५६.२ प्रतिशत शिक्षा महाशाखाले खर्च गरेको छ भने पूर्वाधारमा २०.७३ प्रतिशत र स्वास्थ्यमा ३१ प्रतिशत खर्च भएको छ । उनका अनुसार अहिलेको अवधिसम्म महानगरले ५० प्रशित भन्दा बढी बजेट खर्च गरिसक्नुपर्ने हो ।

कमेन्टहरु
Loading...