एकता जोगाउने प्रयासमा नेकपा ओली तथा प्रचण्ड–नेपाल पक्षका दोस्रो तहका नेता

काठमाडौं । अब हामी २ भागमा बाँडियौं भनेर औपचारिक रुपमा घोषणा नभए पनि नेपाल कम्युनिस्ट पार्टी नेकपा २ समुहमा विभाजित भइसकेको अवस्था छ । दुवै समुहका केही शीर्ष नेताहरुले अब पार्टी एकताको कुनै अवस्था नभएको बताउँदै आएका छन् । दुवै पक्षका नेताहरुले एकअर्काको समुहका विभिन्न नेताहरुलाई माफी मागेर, सुध्रिएर आएका खण्डमा आफूहरुले स्वागत गर्ने बताउँदै आइरहेका छन् ।

तर नेकपा ओली तथा प्रचण्ड–नेपाल समुहका दोस्रोत तहका केही नेताहरुले ने पार्टीलाई फेरी एकढिक्का बनाउन सकिन्छ कि भन्ने हेतुले एकताको प्रयास सुरु गरिरहेका छन् । नेकपामा शीर्ष तहका नेताहरुमा तीक्तता अझै बाँकी छ । विभाजित भइसकेको पार्टीका शीर्ष नेताहरुले मुलुकभरी आयोजना गर्ने भेलामा एकअर्काप्रति विभिन्न दोषारोपण तथा आरोप–प्रत्यारोप लगाउने गरेका छन् ।

तर प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली तथा प्रचण्ड–नेपाल समुहमा रहका दोस्रो तहका नेताहरुले भने पार्टीलाई एक बनाउन सकिन्छ कि भन्ने सोचका साथ कुराकानी तथा छलफल गरिरहेको बुझिएको छ । नेकपा ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङ अवस्था जटिल रहेको भए पनि एकता गर्न सकिन्छ कि भन्ने झिनो आश अझै बाँकी रहेको बताउँछन् ।

एकताका लागि अर्को पक्षका केही नेताहरुसंग कुराकानी भइरहेको उनले बताएका छन् । छलफल तथा कुराकानी बढिरहेको भए पनि एकतासम्म पुग्न जटिल रहेको उनले बताए । तर राजनीतिमा जस्तोसुकै परिस्थिति तथा सम्भावना हुने भएकाले पार्टी एकताका लागि आफूले पहल गर्न नछोड्ने र निरन्तर प्रयास गर्ने उनको भनाई रहेको छ ।

यता नेकपा प्रचण्ड–नेपाल समुहका केही दोस्रो तहका नेताहरुले पनि सो प्रयास जारी राखेका छन् । नेकपा ओली पक्षका दोस्रो तहका नेताहरुसंग कुराकानी भइरहेको उक्त समुहका नेतचा भीम रावलले बताएका छन् । हालको राजनीतिक परिस्थितिमा पार्टी एकता कठिन बनेको भए पनि उक्त अवस्थालाई सहज बनाउँदै लैजान सकेको खण्डमा एकता असम्भव नहुने नेता रावलको भनाई छ ।

राजनीतिक परिस्थितिलाई सहजता तथा दुवै पक्षले आ–आफ्नो गल्ती स्वीकार गरेर आत्मालोचना सहित अगाडि बढेमा एकता सम्भव भएको उनले बताए । प्रधानमन्त्री ओलीले पटक–पटक पार्टी फुटाउने प्रयास गरेकाले एकता ओली व्यवहारमा निहीत हुने उनले बताए । एकताका लागि ओली पक्षका दोस्रो तहका नेतासंगको कुराकानी तथा छलफललाई भने जारी राख्ने उनले बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी औपचारिक रुपमा विभाजन भइसकेको छैन । ओली तथा प्रचण्ड–नेपाल पक्षले पार्टी विभाजन नभएको अवस्थामा समेत छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरिरहेका छन् । औपचारिक घोषणा नभएको भए पनि उनीहरु दुवै समुहले छुट्टाछुट्टै कमिटी बनाइसकेका छन् । स्रोतका अनुसार नेता प्रदीप ज्ञवालीसहित, सुवाचन्द्र नेम्वाङ, वर्षमान पुन, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, योगेश भट्टराई लगायत नेताहरु पार्टीको एकतालाई जोगाउने प्रयासमा लागिपरेका छन् ।

कमेन्टहरु
Loading...