पोखराबाट प्रधानमन्त्रीको ‘ब्याक गियर’

दिपक के श्रेष्ठ

सोमबार पोखरा आएका प्रधानमन्त्री केपी शर्मा ओली करिब ४ घण्टा अत्यन्त व्यस्त रहे । राजनीतिक र संवैधानिक किचलोको मुद्धा सर्वाेच्च अदालतले पुनः संसदमै फर्काइदिएपछि प्रधानमन्त्री ओलीको देश दौडाहा ‘दैनिकी’ बनेको छ ।

आइतबार साँझ नै ओलीले फागुन २३ गते संसदको बैठक डाकिने बताएका थिए । सर्वाेच्चको फैसलापछि पनि ढुक्क र आत्मविश्वासी देखिएका उनले विराटनगरको भाषणसम्म पनि आफु नै प्रधानमन्त्री हुने र कार्यकाल पुरा गर्ने भन्न भ्याएका थिए । यही ११ गते अदालतको फैसलापछि पार्टीभित्र झनै व्यस्त र रणनीति बनाउन बढी समय खर्चदै आएका छन् ।

राष्ट्रिय राजनीतिलाई आफ्नै वरिपरी घुमाउने गृहकार्य गरिरहेपनि सोमबार पोखरामा प्रधानमन्त्री ओलीले आफु केही लाइनमा आएको घुमाउरो तवरले स्वीकारेका छन् । नेकपा गण्डकीको प्रदेशस्तरीय भेलामा सम्बोधन गर्दै प्रम ओलीले आफुलाई हटाउन २३ गतेको संसदमा अविश्वास प्रस्ताव ल्याएर विधिसम्मत हटाउन चुनौतीपूर्ण आग्रह गरे ।

आफुमाथि आक्रमण हुन सक्ने, आफु नरहन पनि सक्ने भन्दै सहभागीलाई भावुक बनाएपछि ओलीले भने ‘विधिसम्मत आउनुहोस्, हटाउनुहोस्, हामी प्रतिपक्षमा बसौंला ।’ उनले डेढ वर्ष प्रतिपक्षमा बसेर दुई तिहाईको बहुमत लिएर फर्कनेसमेत उद्घोष गरे ।

यसअघि कुनैपनि भाषण, मन्तव्य वा सम्बोधनकाक्रममा ओलीले प्रधानमन्त्री पद छाड्ने र प्रतिपक्षमा बस्नेबारे बोलेका थिएनन् । पोखराको सम्बोधनपछि ओलीले आगामी २३ गतेको आंकलन गरिसकेको छनक दिएका छन् । उनले भनेका छन्, ‘अविश्वासको प्रस्ताव राखेर हटाउन पाउनुहुन्छ नी, हटाउनोस् ।’

संसदमा सग्लो नेकपाको १ सय ७३, नेपाली कांग्रेसको ६१ र जनता समाजवादी पार्टीको ३२ सांसद रहेका छन् । नेकपाभित्र केही पक्ष अब मिलेर जाने भन्नेतर्फ लागेका छन् भने केही ‘हर्स ट्रेडिङ’मा लागेका छन् । अविश्वासको प्रस्ताव पास गर्न १ सय ३८ सांसद आवश्यक पर्छ ।

कमेन्टहरु
Loading...