काठमाडौं । विसं २०७८ मा २ वटा दसैं परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने २ वटा चैते दसैं परेको छ । वैशाख ७ गते मंगलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैं परेको नेपाल पञ्चांग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चांग) मा उल्लेख छ ।
यसैगरी विसं २०७८ को चैत २६ गते शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैं परेको छ । बडादसैंका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दसैं आगामी वर्ष असोज २१ गते बिहीबार घटस्थापना गरेर सुरु हुने भएको छ ।
असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ ।
कार्तिककृष्ण पक्षमा सुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मंगलबारदेखि सुरु हुनेछ । दसैं र तिहारलाई नेपालमा विशेषरूपमा मनाइन्छ । लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ ।
चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दसैंलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउँछन् ।
शक्तिको आराधना गर्न वर्षमा ४ नवरात्र पर्ने भए पनि चैत्र शुक्ल र आश्विन शुक्लको दसैंलाई नेपालीले महत्वका साथ मनाउने गरेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।
वर्षमा ४ पटक अर्थात् चैत, असार, असोज र पुस महिनाको शुक्ल पक्षमा देवीको आराधना गर्ने नवरात्र पर्छ ।
असार र पुसमा पर्ने नवरात्रमा साधकले साधना गर्ने गरे पनि आमरूपमा मनाउने परम्परा छैन । यस वर्ष विसं २०७७ असोजमा मलमास (अधिकमास) परेकाले विसं २०७८ मा ३ वटा दसैं परेको उनले जानकारी दिएका छन् । रासस