जसपा अध्यक्ष भट्टराईलाई इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा.बाबुराम भट्टराईलाई क्यान्सर नभएको चिकित्सकहरुले निष्कर्ष निकालेका छन् । डा.भट्टराईको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनलाई न्युरो इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको निष्कर्ष निस्किएको हो । न्युरो इन्डोक्राइनको ट्युमर नभएको निष्कर्ष चिकित्सकहरुले निकालेसंगै डा.भट्टराई भोलि मंगलबार स्वदेश फर्किने भएका छन् ।

उपचारका लागि हाल भारतको दिल्लीमा रहेका उनी नेपाल वायु सेवा निगमको जहाजबाट भोलि स्वदेश फर्किने उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिएका छन् । न्युरो इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको निष्कर्ष निकालिएको भए पनि ट्युमरको शल्यक्रिया भने अबको केही समयमा नै गर्नुपर्ने चिकित्सकहरुले डा.भट्टराईलाई सुझाव दिएका छन् । प्रेस सल्लाहकार पाण्डेका अनुसार भट्टराईले अबको २/३ महिनाभित्र नै ट्युमरको शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरुको सुझाव रहेको छ ।

कमेन्टहरु
Loading...