चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने

काठमाडौं । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनः सञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो ।

सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरुप उक्त नाका पुनःसञ्चालनमा आउन लागेको हो । ‘सोमबारदेखि नाका खोल्न चिनियाँ पक्ष सहमत भएको छ, प्राविधिक कारणले १/२ दिन विलम्ब भए पनि यो साताभित्र केरुङ नाका सञ्चालनमा आउँछ ।’ परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भने ।

रसुवा जिल्ला कोरोनामुक्त भइसकेको र भन्सार कार्यालय, सुरक्षा निकाय, ट्रक चालक र श्रमिकले कोरोनाविरुद्धको खोप लगाइसकेकाले महामारीको जोखिम नगण्य रहेको वास्तविकता चीनलाई बुझाउन तथा स्वास्थ्य जोखिम नरहेको विषयमा विश्वस्त पार्न परराष्ट्र मन्त्रालय र ल्हासास्थित महावाणिज्य दूतावासले निक्कै मेहनत गर्नुपरेको थियो । यसअघि रसुवा भन्सार कार्यालयको एकल प्रयास पहलबाट नाका खोल्न नसकिने जानकारी उसले माथिल्लो निकायलाई दिइसकेको थियो । परराष्ट्र मन्त्रालयले यहाँस्थित चिनियाँ दूतावास एवं बेइजिङ र ल्हासामा रहेका आफ्ना कूटनीतिक संयन्त्रहरूमार्फत नाका खोल्न अथक प्रयास गरेको थियो ।

केरुङ नाका नखुल्दा आयात–निर्यात ठप्प भएको छ कोभिड–१९ ले थिलथिलो पारेको मुलुकको अर्थतन्त्रलाई अझ कमजोर पारेको छ भने राज्यलाई दैनिक २ करोडभन्दा बढी राजस्व योगदान गरिरहेको उक्त अन्तर्राष्ट्रिय व्यापारिक नाका बन्द भएपछि राज्यलाई घाटामात्र भएको छैन स्थानीय तथा नाकामा कारोवार गर्ने व्यापारीलाई समेत रोजी–रोटीको चिन्ता बढेको थियो ।

रसुवागढी भन्सारका कोरोना पोजिटिभ देखिएका मजदूर संक्रमणमुक्त भइसकेको तथा उनीहरूले खोपसमेत लगाइसकेको सन्देश चिनियाँ अधिकारीलाई पु¥याउन नसकिएको दुखेसो गर्नुहुन्छ कार्यालयका प्रमुख रामप्रसाद रेग्मी । ‘माघ २९ गतेदेखि बन्द नाका खुलेको छैन, त्यसअघि उताबाट आएका पाँचवटा मालवाहक गाडी पास हुन्थे, हाम्रा उत्पादनको निर्यात ठप्प भएको छ ।’

गत भदौदेखि १६ घण्टा काम गर्ने सहमति भए पनि त्यसो नभएको सुनाउँदै उनले भने । १५ श्रमिक र ३५ जना ट्रक चालकमात्र होइन भन्सार कार्यालयसँग सम्बद्ध सुरक्षा निकायसहित सबै कर्मचारी कोरोनामुक्त रहेका उनको कथन छ । उक्त नाकाबाट निकासी–पैठारी गर्ने व्यवसायी केरुङमा चीनले अघोषित नाकाबन्दीको जस्तो अवस्था सृजना गरेको आरोप लगाउँदै त्यसलाई अनिश्चितकालसम्म लम्ब्याउन नहुनेमा जोड दिएका छन् । अविलम्ब नाका खुलाएर व्यापारिक एवम् अत्यावश्यकीय सामग्रीहरूलाई पहिलो प्राथमिकता दिनुपर्ने माग गरेका छन् ।

सिन्धुपाल्चोकको तातोपानी नाकाबाट भने दैनिक ५–७ वटा ‘कण्टेनर’ आउन थालेका तर नेपाली सामान निकासी हुन नसकेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर क्षेत्री बताउँछन् । नेपाली उद्यमी–व्यवसायीले हस्तकलाका सामग्री निर्यात गर्न नपाएको गुनासो आफूसमक्ष गरेका जानकारी दिँदै उनले त्यसनिम्ति सरकारीस्तरबाट हरसम्भव प्रयत्न भइरहेको बताएका छन् ।

केरुङबाट रसुवागढी नाका हुँदै नेपालतर्फ रेडिमेड कपडा, कम्मल, घडी, जुत्ता, चप्पल, स्याउ, विद्युतीय तथा इलेक्ट्रोनिकलगायतका सामग्री भित्रिने गरेको छ भने नेपालबाट जडीबुटी तथा हस्तकलाका सामग्री निकासी हुने गरेको थियो । रासस

कमेन्टहरु
Loading...