आधा फेवाताल हरायो ! पहिले २२ हजार रोपनी, अहिले ११ हजार २५५ रोपनी

दिपक के श्रेष्ठ

२०१८ सालको नापीको नक्शा अनुसार फेवातालको कूल क्षेत्रफल २२ हजार रोपनी अर्थात् १० वर्ग किलोमिटर रहेको उल्लेख गरिएको थियो । त्यसपछि विभिन्न समयमा उतारिएको नक्शामा यसको क्षेत्रफल घट्दै आएको छ ।

त्यसपछि ०३८ सालमा यूएनडीपीले तयार पारेको अध्ययन प्रतिवेदनमा तालको क्षेत्रफल ५.८ वर्ग किलोमिटर उल्लेख गरिएको छ । पछि ०६४ मा विश्वप्रकाश लामिछाने नेतृत्वको समितिले गरेको अध्ययनमा तालको क्षेत्रफल ५.६ वर्ग किलोमिटर भनि उल्लेख गरियो । उल्लेखित तथ्यांकलाई हेर्ने हो भने २० वर्षको बिचमा तालको आधा क्षेत्रफल घटेको छ । तर ३८ सालपछि भने फेवाले चर्चेको क्षेत्रमा उल्लेख्य घटबढ भएको छैन ।

तालको निश्चित क्षेत्र तोक्ने विषय सदैव चुनौति भइरहेकाबेला पछिल्लो समय यसको आधिकारिक क्षेत्रफलको छिनोफानो गरिएको छ । गत कात्तिकमा पुण्यप्रसाद पौडेलको संयोजकत्वमा गठित फेवातालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समितिले अन्ततः तालको क्षेत्रफल ५ दशमवल ७२६ वर्ग किलोमिटर तोकेको छ । उक्त क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा हुन आउँछ । जस अनुसार यसको परिधि १८ किलोमिटर भएको छ ।

समितिले बुझाएको प्रतिवेदन अनुसार फेवातालको चार किल्ला ‘पूर्वमा ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौंदी–चङ्खपुर बीचको दम्किलो र दक्षिणमा चिसापानी रानी वन’ कायम भएको छ । ९ सदस्यीय समितिले कात्तिक २८ गतेदेखि सिमांकन एवं नक्सांकनको काम सुरु गरेको थियो ।

समितिका अध्यक्ष पौडेलले सिमांकनको प्रतिवेदन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई बुझाएपछि उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेश गरेका छन् । यसपश्चात् समितिले अब दोस्रो चरणको काम गर्नेछ ।

दोस्रो चरणमा सर्वाेच्च अदालतको फैसला, प्राकृतिक न्यायको सिद्धान्तमा आधारित भई मापदण्ड तय गर्न पोखरा महानरपालिकालाई निर्देशन गर्ने, तालभित्र परेका तथा दूषित दर्ता भएका जग्गाको लगत तयार गर्ने र त्यस्ता जग्गाको दर्ता बदर गरी नेपाल सरकारको नाममा कायम गर्न भूमिसुधार तथा मालपोत कार्यालय कास्कीमा सिफारिस गर्ने रहेका छन् ।

त्यस्तै, ताल संरक्षणका लागि दीर्घकालीन योजना बनाउन र सो कार्यका लागि थप जग्गा आवश्यक पर्ने भएमा यकीन विवरण सहित प्रस्ताव तयार गरी सुझाव दिनेलगायतका काम रहेका छन् । उक्त काम सक्न समितिसँग अब ३ महिनाको समय रहेको छ ।

समितिले काम सकेर प्रतिवेदन बुझाएपनि समस्या सल्टिहाल्ने छैन । यसबीच, स्थानीयले तालभित्र आफ्नो जमिन रहेको बताउँदै आएका छन् । हाल बाँध मर्मत गर्न तालको पानी सुकाइएकोबेला कतिपयले बाटो खोल्ने र संरचना निर्माण गर्ने कार्यले स्थानीय निकायसँग टकराव भएको छ ।

तालकाकारण पीडित भएको भन्दै लालपुर्जासहित उनीहरुले समूहमार्फत ध्यानाकर्षण गराइरहेका छन् । तालको मापदण्डभित्र पर्ने जमिन र संरचानको क्षतिपुर्ति एवं मुआब्जामामात्रै करिब ३० अर्ब रुपैयाँ लाग्ने महानगरको अनुमान छ ।

 

 

कमेन्टहरु
Loading...