आन्तरिक पर्यटकको पर्खाइमा होमेस्टे

कोरोना भाइरस (कोभिड १९) का कारण दश महिनादेखि बन्द रहेका जिल्लाका होमस्टेहरु धमाधम खुल्न थालेका छन् ।

कोराना भाइरसका कारण बन्द भएको होमस्टे पछिल्लो समय बन्दाबन्दी खुकुलो भएसँगै संचालनमा आएका हुन् । ग्रामिण पर्यटनको उपयुक्त गन्तव्यको रुपमा होमस्टेलाई लिने गरिएको छ । गाउँका फुर्सदिला महिलालाई व्यस्त बनाउनुका साथै आम्दानी पनि बढ्ने भएकाले प्राथमिकतामा अहिले होमस्टे पर्न थालेको छ । तर पछिल्लो समय जिल्लाका होमस्टेहरु खुलेका छन् । यतिखेर उनीहरु पाहुनाको प्रतिक्षा गरिरहेका छन् ।

तनहुँ भानु नगरपालिकाको टुटेपानी सामुदायिक होमस्टे, बन्दीपुर गाउँपालिकाको रामकोट होमस्टेलगायत जिल्लाका अन्य होमस्टेहरु यतिखेर संचालनमा आएको छ ।

बन्दाबन्दीका कारण प्रभावित बनेको ग्रामिण पर्यटन फेरी जुर्मुराउन थालेको हो । पछिल्लो समय बन्दाबन्दीले गर्दा मानिसहरु घरभित्रै बस्नुपर्ने बाध्यता थियो जसका कारण मानिसहरु आत्तिएका थिए । तर, अहिले विस्तारै परिस्थिति सहज बनेकाले मानिसहरु रिफ्रेस हुनको लागि होमस्टे रोज्न थालेको रामकोट होमस्टेकी अध्यक्ष विहिसरा ओलेले बताइन् । विगत लामो समयदेखि बन्द रहेको होमस्टे फेरी खुलेको छ । होमस्टे ग्रामिण पर्यटनको उपयुक्त गन्तव्य पनि हो ।

‘गाउँका फुर्सदिला महिलाहरुले होमस्टे सुरु गरेपछि आम्दानी पनि गरेका थिए तर, अकस्मात देखिएको कोभिडका कारण पर्यटन क्षेत्र धारासायी बन्यो । गत हप्ता मात्रै होमस्टेमा ५० जनाको टोली आएर बास बसेपछि पुरानै लयमा फर्किने आसा गरेका छौं । गाउँपालिकाको पहलमा रामकोट होमस्टेमा पचास जनाको टोली आएर बास बस्नुभयो स्थानीय सरकारसहितको समुह आएर बसेपछि हाम्रो पनि होमस्टेप्रति आसा पलाएको छ’,उनले भनिन् ।

त्यस्तै भानु नगरपालिका– १३ स्थित टुटेपानी होमस्टे पनि दश महिनापछि सन्चालनमा आएको छ । कोरोना भाइरस (कोभिड– १९) का कारण बन्द भएको होमस्टे पुन संचालनमा ल्याइएको टुटेपानी सामुदायिक होमस्टेका अध्यक्ष क्या होमबहादुर गुरुङले बताए ।

‘ग्रामिण पर्यटन उकास्न होमस्टे संचालनमा ल्याइएको छ । कोरोना महामारीबाट बच्न हामीले स्वास्थ्य मापदण्ड पालना गरी होमस्टे संचालन गरेका छौ’,उनले भने ।

लकडाउन अघिसम्म तनहुँका विभिन्न ठाउँमा रहेका होमस्टेहरुमा आन्तरिक पर्यटनको भिडभाड बढेको थियो । तर कोरोनाको कारण जताततै बन्दाबन्दी भयो जसले गर्दा पर्यटन क्षेत्र प्रभावित बन्यो ।

‘शुक्रबार र शनिबार पाहुना राख्न भ्याइनभ्याइ हुन्थ्यो आम्दानी पनि राम्रै हुन्थ्यो विगतका दिन सम्झदै अध्यक्ष गुरुङले भने, ‘अव फेरी ति दिन फर्काउनको लागि होमस्टेको प्रचारप्रसार आवस्यक छ।’

पाहुनालाई अर्गानिक खाना

होमस्टेमा आएका पाहुनालाई अर्गानिक खाना खुवाउने गरिएको छ । गुन्द्रुक, भटमास, मकै, कोदोको रोटी, हरिया सागपात, लोकल कुखुराको मासुलगायतका परिकारको स्वाद दिने गरिएको छ ।

त्यस्तै महिला दिदिबहीनीहरुले परम्परागत भेषभुषा लगाएर फुलमालाले स्वागत गर्नुका साथै साँझपख नाचगानलगायतका मनोरन्जनात्मक प्रस्तुती देखाइने छ ।

ग्रामिण पर्यटन उकास्न पाँच पालिकाका जनप्रतिनिधिको होमस्टेमा बास

कोभिड– १९ का कारण थला परेको ग्रामिण पर्यटन उकास्न बन्दीपुर गाउँपालको पहलमा केही दिन अगाडि तनहुँ क्षेत्र नम्वर १ अन्र्तगतका पाँच स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष उपाध्यक्षसहितका प्रतिनिधिहरु होमस्टेमै बास बसेका छन् ।

गाउँपालिकाले जिल्लाका क्रियाशिल पत्रकारहरुलाई बोलाएर होमस्टेमै अन्र्तक्रिया तथा छलफल कार्यक्रमसमेत गरेको थियो ।

कोभिडका कारण प्रभावित बनेको ग्रामिण पर्यटनलाई व्युताउन गाउँपालिकाले पाँच पालिकाका जनप्रतिनिधि तथा संचारकर्मीसँग होमस्टेमा अन्र्तक्रियासमेत गरेको बन्दीपुर गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत महेश सुवेदीले बताए ।

होमस्टेको माध्यमबाट ग्रामिण पर्यटनलाई प्राथमिकतामा राख्ने प्रयास गाउँपालिकाले गरेको छ । गाउँका स्थानीयको आय स्तर उकास्नको लागि गाउँपालिकाले होमस्टेलाई प्राथमिकता दिन थालेको हो ।

प्रचारप्रसार गरिदिन आग्रह
होमस्टे खुलेसँगै प्रचारप्रसारको लागि संचालकहरुले तीव्रता दिन थालेका छन् ।

प्रचारप्रसारनै उपयुक्त माध्यम भएकाले जिल्लाका क्रियाशिल पत्रकारलाई उनीहरुले आग्रह गर्न थालेका हुन् । पर्यटनको बारेमा समचार लेखेपछि मात्रै सर्वसाधारणले त्यहाँको बारेमा जानकारी पाउने भएकाले मानिसहरुको त्यसतर्फ आकर्षण बढ्ने गरेको रामकोट होमस्टेकी अध्यक्ष बिहिसरा आलेको भनाइ छ ।

अहिले संचालनमा ल्याइएको होमस्टेहरुपनि सुरुका दिनमा प्रचारप्रसार गरिएको थियो । त्यसपछि मात्रै आन्तरिक पर्यटक होमस्टे आउँथे तर केही समय बन्द हुँदा प्रभावित पनि बन्यो उनले भनिन् तर अव फेरी होमस्टेले पहिलेकै झै लय लिने अपेक्षा गरिएको छ ।

स्वास्थ्य मापदण्ड अपनाएर संचालन
बन्दीपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले पालिकाका होमस्टेहरु स्वास्थ्य मापदण्ड अपनाई सुरक्षित तरीकाले संचालन भएको हुँदा ढुक्क भएर होमस्टे आउन आग्रह गरेका छन् ।

होमस्टे संचालकले माक्स, सेनीटाइजरलगायतका स्वास्थ्य सामग्री अपनाएर सुरक्षित तरिकाले पाहुनालाई राख्ने गर्छन् ।

त्यस्तै भानु नगरपालिकाको टुटेपानी होमस्टे पनि अहिले पाहुना कुरिरहेको छ ।

अध्यक्ष क्या होमबहादुर गुरुङले टुटेपानी होमस्टे खुल्ला गरिसकिएको हुँदा आन्तरिक पर्यटकहरु नडराइकन आउन आग्रह गरेका छन् ।

उनले आएका पाहुनाहरुलाई परम्परागत भेसभुसामा सजिएर महिला दिदिबहीनीहरुले फुलमालाले स्वागत गर्छन् ।

होमस्टेबाट हिमाल हेर्न पाइने
जिल्लामा रहेका होमस्टेबाट हिमश्रृखलाको दृस्यावलोकन गर्न पाइनेछ ।

बन्दीपुर होमस्टेबाट माछापुच्छे, अन्नपुर्णलगायतका ११ भन्दा बढी हिमाल देख्न पाइन्छ भने त्यति नै संंख्यामा टुटेपानी र मिछुर्लुङ होमस्टेबाट पनि हिमाल हेर्न सकिन्छ ।

हिमश्रृखलाका मनोरम दृस्यहरु देख्न पाइनुका साथै सुर्यौदय र सुर्यास्त नियाल्न समेत पाइने भएकाले पनि पछिल्लो समय आन्तरिक पर्यटकले ग्रामिण पर्यटनलाई प्राथमिकता दिन थालेका हुन् ।

कमेन्टहरु
Loading...